
नर्सले त बिरामीले जे भन्यो त्यही सुनेर बस्नुपर्ने अवस्था छ । आफ्नो तर्क राख्न थाल्यो भने ‘यस्ता नर्सलाई त अस्पतालबाट निकाल्नु पर्छ’ भनेर अस्पताल प्रशासनसमक्ष जान्छन् । नर्सहरू छुच्चा, घमण्डी, रिसालु हुन्छन् भन्ने मानसिकता बोकेर अस्पताल आएका बिरामी र आफन्तको हामीप्रति हेर्ने दृष्टिकोण नै त्यस्तो हुन्छ र सानो कुरा पाउनेबित्तिकै निहुँ खोज्न थालिहाल्छन् । कोही–कोही त ‘तिमीहरू नर्स त हामीले तिरेको पैसाले तलब खान्छौ, अनि हामीसंगै बढ्ता बोल्छौं’ सम्म पनि भन्छन् । अस्पतालको शुल्क, औषधि, डाक्टरको सेवाजस्ता गुनासा पनि नर्समाथि नै पोखिन्छ । कतिपय बिरामी र आफन्तहरू भनेको कुरामा विश्वास नगर्ने, दिएको सुझाव नमान्ने हुन्छन् । मानिस भएपछि स्वभाविक हो, राम्रो मुखले सम्झाउँदा पनि नमाने पछि कहिलेकाही रिस त उठिहाल्छ ।
नर्सिङ करिअर सुरु गरेको २ वर्ष भयो । यो २ वर्षको अवधिमा मैले अनुभव गरेको कुरा हो– नेपालमा डाक्टरलाई जति सम्मान दिइन्छ, नर्सलाई केही महत्व दिइदैंन । बिरामीका आफन्तहरूले हरेक पल नर्सप्रति नै आशंकाको दृष्टिले हेर्ने, हतोत्साहित गर्न खोज्ने र हरेक कुराहरूमा गुनासामात्र राख्ने प्रवृत्तिको सामना गरें । कहिलेकाहीँ त यस्तो लाग्छ– हामी नर्स भनेका त ‘गुनासाका पेटी’ हौं ।
अस्पताल जाने बिरामी र आफन्तले अलिकति शिष्ट व्यवहार गरिदिँदा पनि हामीलाई काम गर्ने उर्जा मिल्छ, हाम्रा हरेक पलहरू बिरामीको सेवामा बित्ने भएकाले नर्सप्रति विश्वास गर्न आवश्यक छ ।कामको चाप, समयअनुसारको तलब सुविधा नभएकोलगायतका कारणले नै होला नर्सहरू काम गरेको एक–दुई वर्षमा नै विदेश पलायन हुने इच्छा व्यक्त गर्दछन् ।
अस्पतालमा कुनै व्यक्ति उपचारका लागि आइसकेपछि निको पार्ने दायित्व हाम्रो हो । हामी पनि पढेर नै यो पेसामा आएकाले हाम्रो योग्यतामाथि थोरै भए पनि विश्वास गर्नुपर्छ भन्ने म लगायत सबै नर्सको आग्रह हो । नर्सका विषयमा केही कुरा आइहाले पनि गल्ती कसको हो भनेर पत्ता लगाएर जवाफ दिने काम स्वास्थ्य संस्थाको हो ।रहर र आमाबाबुको दबाबमा नर्सिङ पढ्नेहरूका लागि मेरो सल्लाह छ, ‘पहिलो यो पेसालाई नजिकबाट राम्ररी नियाल्नुस्, अनि मात्र निर्णय लिनुस् ।’ नर्सिङ पेसा मानसिक र शारीरिक हिसाबले उत्तिकै चुनौतिपूर्ण छ । मानसम्मान दिने कुरामा सधै एक कदम अगाडि हुनुपर्छ । रिसराग छाड्नुपर्छ, सधै हाँसेर काम गर्नुपर्ने हुन्छ । त्यसैले राम्रोसंग विचार गरेरमात्र अगाडि बढ्नुपर्छ । स्वास्थ्य खबरबाट