नेपालमा धानखेतीको इतिहास पुरानो छ । धानलाई पुरानो बालीको रुपमा चिनिन्छ । चीनको झेजिङ प्रान्तमा ७ हजार वर्ष पहिले पनि व्यावसायिक रुपमा धानखेती गरिएको पाइन्छ । नेपालमा जङ्गली धान मानव सभ्यता शुरु हुनुभन्दा पहिलेदेखि शुरु भएको पाइन्छ । धानका प्रमुख दुई वंशजमध्ये ओराइजा सेटिभा जातको उत्पत्ति नेपाल, भारत, भुटान, बर्मा, लाओस, भियतनाम, फिलिपिन्स र चीनमा भएको पाइन्छ । अफ्रिकी धान ओराइजा ग्लोबोरिमा पश्चिमी अफ्रिकामा ४ हजार वर्ष पहिले उत्पत्ति भएको थियो । हाल संसारमा ४० हजारभन्दा बढी प्रजातिका धानहरु पाइन्छन् ।
अमेरिकामा सन् १९८५ पछि मात्र धानखेती शुरु गरिएको हो । संसारमा रहेका २० वंशजका जङ्गली धानहरुमध्ये चार वंशजका जङ्गली धानहरु नेपालमा पाइन्छन् । नेपालको कपिलवस्तु जिल्लाको अजिगरा तालमा जङ्गली धानको उत्पत्ति र सुर्खेतको बुलबुले तालमा सदाबहार धानको उत्पत्ति भएको थियो । चितवनको लोथरखोला, जुम्लाको सुन्दरपुर जङ्गली धान पाइने प्रमुख स्थानहरु हुन् । नेपाल र एशियाकै प्रमुख खाद्यान्न बालीको रुपमा रहेको धान विश्वमा दोस्रो बालीको रुपमा चिनिन्छ ।

नेपालमा धानखेतीको किंवदन्ती छ जसअनुसार नेपामा चामलै फल्ने बोट पाइने बताइन्छ । धेरै वर्ष पहिले नेपालको कुनै स्थानमा चामलको खेती हुँदै आएकोमा सोह्र श्राद्ध गरी पेटभरि टन्न ‘खीर’ खाएर अघाएको ब्राह्मणले लोभिएर खेतमा फलिरहेको चामल टिपी खाएछन् । अनि त्यसै बेलादेखि ब्रह्माले ‘धान होस्’ भनी सरापेपछि चामलको सट्टा धान फल्न थालेको किंवदन्ती छ । कोरियाबाट नेपाल भित्र्याएर परवानीपुरमा दुई–चार दानाबाट एक प्रकारको धानको बिरुवा हुर्काइएको थियो । एउटा बालामा जम्मा १५–२० दाना मात्र फल्ने हुनाले व्यापकता पाएन ।
धानको प्रयोग चाडपर्वहरुमा पनि हुँदै आएको छ । पूजा गर्दा धान र चामललाई घ्यूसँग मिसाएर होम गर्ने चलन परम्परादेखि नै चलिआएको छ । घरघरमा आप्mना मान्यजनबाट चामलको अक्षता लगाई दशैँ व्यापक रुपमा मनाउने प्रचलन छ । दशैँबाहेक अन्य चाडपर्वमा पनि चामलका विभिन्न परिकारहरु बनाएर खाने गरिन्छ । घरबाट बाहिर जाने क्रममा शुभ साइतमा चामलको अक्षताको रातो टीका लगाई बिदा गरिने चलन पहिलादेखि नै चलिरहेकै छ । विवाह, व्रतबन्ध, पास्नी आदि कार्यक्रमहरुमा चामलको टीका लगाई कार्यको शुभारम्भ र समापन गरिन्छ । मृत्युपश्चात् पनि लाशलाई घाटमा लैजाँदा चामलको बुर्की छर्ने धानको चामल मात्र होइन, परालबाट विभिन्न प्रकारका घरायसी सामग्रीहरु गुन्द्री, चकटी, भकारी, छानो आदि प्रयोग गर्ने चलन छ । कृषि उपज उत्पादन तथा अन्य सामग्रीहरु सुरक्षित रुपमा ढुवानी गर्दा प्याकिङको लागि परालको प्रयोग गरिन्छ । त्यसैगरी आधुनिक च्याउ खेती गर्न पराललाई प्रमुख स्रोतको रुपमा प्रयोग गरिन्छ ।
खाद्य तत्वको दृष्टिकोणले पनि भातलाई पोषिलो खानेकुराको रुपमा लिइन्छ ।
विज्ञहरुका अनुसार यसमा प्रशस्त मात्रामा कार्बोहाड्रेड पाइने, चिल्लो पदार्थ नगण्य रुपमा भएको र मुटुरोग लगाउने कोलेस्ट्रोल तत्व नभएको, सोडियम तत्व कम भएको कारणले स्वाथ्यबद्र्धक पनि मानिन्छ । धानमा प्रशस्त परिमाणमा भिटामिन र मिनरल्सहरु पाइने भए पनि होलर मिलमा धान कुटाउँदा सबै तत्वहरु ढुटोमा जाने गरेको छ । यसमा शरीरलाई चाहिने आठ प्रकारका एमाइनो एसिडहरु पाइन्छन् । साना बच्चाहरुका लागि पनि यो सजिलै पच्ने खाने कुरामा पर्छ । आधा कप भातमा ८२ क्यालोरी शक्ति, ४५ ग्राम कार्बोहाड्रेड र ३ ग्राम प्रोटिन पाइने विज्ञहरु बताउँछन् ।
यति धेरै महत्व बोकेको धान बढी उत्पादन गर्न सरकारले किसानहरुलाई मल, बीउ र कृषि औजारहरु उपलब्ध गराउन बिर्सनु हुँदैन । क्षेत्रफल र उत्पादनको हिसाबले अन्य खाद्यान्न बालीको तुलनामा झण्डै दोब्बर क्षेत्रफलमा हुने गरेको छ । विश्वका १ सय ११ भन्दा बढी देशले धानखेती गरिरहेका छन् । विश्वमा खाद्यान्न बाली गहुँपछि दोस्रो स्थान धान बालीले ओगेटेको छ । विश्वको १६ सय २० लाख हेक्टर क्षेत्रफलमा धान खेती भइरहेको छ । एशियामा १५०० लाख हेक्टरमा खेती हुँदै आएको छ । विश्वमा एशिया र दक्षिण एशिया धान खेतीमा अग्रणी स्थानमा छन् । उत्पादनको दृष्टिले विश्वमा सबैभन्दा बढी धान उत्पादन गर्ने देश चीन रहेको छ भने भारत, इन्डोनेशिया, बङ्गलादेश, भियतनाम, थाइल्यान्ड, फिलिपिन्स, म्यान्मार, ब्राजिल र जापान पनि अघिल्लो पङ्क्तिमै पर्दछन् ।
नेपालमा पनि धान नै प्रमुख खाद्यान्न बाली भएकोले खाद्य सुरक्षामा धानखेतीको ठूलो महत्व रहेको छ । धानको उपभोग गरीबदेखि धनीसम्म र बच्चादेखि वृद्घसम्म सबैलाई समान छ । धानबाट प्रमुख रुपमा चामल, भुजा, च्युरा तयार हुन्छन् । बढ्दो पशुपालन व्यावसायिकमा धानको पराल, ब्रान, धानको ढुटो मुख्य आहार हुन् भने च्याउ उत्पादनमा धानको पराल अत्यधिक प्रयोग हुने गर्छ । धानमा आधारित कृषिजन्य उद्योग गाउँदेखि शहरसम्म प्रशस्त छन् जहाँ रोजगारको उपलब्धता बढी सुनिश्चित छ । यसैले नेपालको कुल जनसङ्ख्याको करीब ६५ प्रतिशत जनसङ्ख्या कृषिमा आश्रित भई ३३ प्रतिशत कुल गार्हस्थ उत्पादन कृषि क्षेत्रबाट प्राप्त हुने गरेको छ । करीब २१ प्रतिशत योगदान धानको मात्र रहेको छ ।
नेपालमा पछिल्लो समयमा कृषि अनुसन्धान परिषद्ले विकास गरेका ५४ जातका धानहरु सिफारिस भई खेती हुँदै आएका छन् । जसमा असिञ्चित र सिञ्चित जमीनलाई दृष्टिगत गरी डुबान तथा सुख्खा सहन सक्ने धानका जातहरुको समेत विकास भएका छन् । अन्न भण्डार मानिने तराई क्षेत्रमा गोरुको सङ्ख्या घट्दै गए पनि जोत्ने प्रविधिको विस्तार भएको छ । पूर्वी नेपालका खेतहरुमा ट्रयाक्टरको प्रयोग एक दशकदेखि हुँदै आएको छ । मुलुकमा खाद्यान्न बालीको उत्पादनमा धानले करीब ५५ प्रतिशत स्थान ओगटेको छ । धानलाई नेपाली अर्थतन्त्रको आधार स्तम्भ पनि मानिन्छ ।
पूर्वी नेपालमा कुल खेतीयोग्य जमीन ९ लाख ७४ हजार ७ सय ७३ हेक्टर क्षेत्रफलमध्ये ४ लाख ८१ हजार ८३ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । यस वर्ष असार अन्तिमसम्म १ लाख ७३ हजार ६ सय ३.१२ हेक्टरमा रोपाइँ भएको छ । कुल धान हुने जग्गाको ३६.०९ प्रतिशत क्षेत्रमा रोपाइँ भएको छ । पूर्वी नेपालको उच्च पहाडमा ३४.६३, मध्य पहाडमा ४९.२८ र तराईमा ३८.२८ प्रतिशत रोपाइँ भएको छ । तेह्रथुम जिल्लामा ८० प्रतिशत रोपाइँ भएको छ, सप्तरिमा १० प्रतिशत स्थानमा रोपाइँ भएको पूर्व क्षेत्रीय कृषि निर्देशनालयका कृृषि प्रसार अधिकृत अभिमन्यु अधिकारीले बताए ।
धानमा उत्पादन लागत घटाई प्रतिस्पर्धी बनाउन रोपाइँ, कटाइ, चुटाइ तथा रोग, कीरा र झारपात नियन्त्रणमा मेसिनको प्रयोगलाई बढाएर यान्त्रिकीकरणतर्पm जोड दिनुपर्ने बेला आएको छ । धान रोप्ने सिजनमा रासायनिक मलको व्यवस्था र अनुदानमा मल उपलब्ध गराउने कार्य, सहज रुपमा मल उपलब्ध गराउने प्रणालीको विकास गर्ने कुनै पनि कन्जुस्याइँ राज्यले गर्नु हुँदैन । साना तथा सहकारी सिँचाइ कार्यक्रमलाई व्यवस्थित गर्दै ग्रामीण क्षेत्रहरुमा पु¥याउन आवश्यक भएको छ ।
आर्थिक वृद्धिको लागि कृषिक्षेत्रलाई प्रमुख क्षेत्र मानिए पनि यसको प्रगति निकै कम छ । नेपालका बहुसङ्ख्यक जनता कृषिक्षेत्रमा आधारित हुनुका साथै कृषिक्षेत्र नै राष्ट्रको आर्थिक मेरुदण्डको रुपमा उभिएको छ । कृषिमा आधारित जनता व्यावसायिकको साटो निर्वाहमुखी छन् । कृषकहरुलाई व्यावसायिक बनाउनेतर्पm लाग्नुपर्ने भएको छ ।
ग्रामीण क्षेत्रमा कृषि पेशा पछिल्लो कालमा आएर घट्दै छ । जनशक्तिको अभाव, मल–बीउको समस्या, सिँचाइको असुविधा, परम्परागत खेती प्रणाली र उत्पादन गरेको अन्नले बजार नपाउँदा यस्ता समस्याहरु आइपरेका छन् । परम्रागत खेती प्रणालीमा आधारित कृषकहरुले कृषिबाट नै जीवन यापन गर्नै नसक्ने भएका छन् । पछिल्लो समयमा किसानहरु कृषि कर्म गर्नबाट टाढा हुँदैछन् । आर्थिक अवस्था कमजोर भएका कृषकहरु मात्रै विकल्पको अभावमा कृषि पेशामै अल्झेर बसेका छन् । नेपालजस्तो गरीब मुलुकका लागि आर्थिक वृद्धिदरलाई माथि बढाउन मात्र हैन, सामान्य रोजगारी गर्न जीविकोपार्जनका लागि पनि कृषिको प्रमुख भूमिका छ । कृषिक्षेत्रलाई अध्ययन–अनुसन्धान, प्राविधिकको विकासका साथै किसानलाई सबै प्रविधिको जानकारी र उन्नत प्रविधिहरुको सही व्यवस्था, कृषि बजारको सुदृढीकरणमा उचित लगानी हुन सकेको खण्डमा कृषिको यथोचित प्रगति हुने थियो ।