धरान / झट्ट हेर्दा धरान–९ का गोपाल राई पूर्व लाहुरे झै देखिदैनन् । आम मानिस झै लाग्छन् । तर, यथार्थ त्यही हो । उनी क्वीन्स गोर्खा इन्जिनियरमा १५ वर्ष बिताएका पक्का लाहुरे हुन् । उनी सन् २००६ मा अवकासप्राप्त भूपू आर्मी हुन् । hiking अवकासपछि पनि करिव एक दशक बेलायतमै बिताए । रहरले भन्दा पनि बाध्यताले उनी युकेमा २०१४ सम्म रहे । त्यसपछि नेपाल फर्किएका उनी समाजसेवामा बढी समय दिन्छन् । त्योसँगै उनको अर्को व्यवसायिक पेशाको रुपमा लगेका छन् हाइकिङ गाइड। धरान आसपासका झण्डै ९ वटा भन्दा बढी स्थानहरु हाइकिङका लागि पदमार्ग नै पहिचान गरिसकेका छन् । दुईवर्षको बीचमा उनले धेरैले त्यो रुटमा लगिसकेका छन् गाइडर बनेर । स्कुलका विद्यार्थी, अन्य नागरिकहरुलाई त्यस्ता पदमार्गमा डुलाउनु उनको दिनचर्या बनेको छ । लाहुरमा रहँदा पनि धेरै ठाउँमा पुगे, ठाउँ हेरे । देश हेरे, मुख फेरे । त्यसले पनि उनलाई घुम्ने बानी लगाइदियो । उनको अर्को पेशाको रुपमा नेचर फोटो खिच्ने पनि हो । बेलायतमै रहँदा उनले नेचरसम्बन्धि फोटो खिच्न औधी रुचाउँथे । खिच्थे पनि । तर, त्यसलाई व्यवसायिक रुपमा भन्दा पनि शौखका रुपमै थियो । क्याननका एसएलआर क्यामेराले फोटो क्लिक गर्दै हिड्न खुवै मन पराउँछन्। घरमा रहँदा पनि उनी त्यसै बस्दैनन् । कि त फोटोको काम गरिरहेका हुन्छन् । या हाइकिङको नयाँ रुटको लागि तयारी गरिरहेकै भेटिन्छन् । हाइकिङ गर्दा स्वास्थ्य, वातावरण र प्रकृतिसँग नजिक हुन पाइने भएकाले उनको शौख यतातिर भएको हो । भन्छन् ‘युके हुँदै पनि हाइकिङ गरिन्थ्यो । तर, यहाँको जस्तो व्यवसायिक थिएन् ।’ स्कटल्याण्ड, वेल्सन क्यानडामा हाइकिङको अनुभव गरेका उनी तत्कालीन समय आर्मीमै कार्यरत थिए । बेलायतको काउन्टी शहरमा अन्यलाई हाइकिङ गराएको स्मरण उनीसँग ताजै छ । धेरै गोर्खाहरु अवकासपछि सामान्य लाइफ जिउँछन् । तर, उनको सधैभरी समय तालिका छ । के गर्ने, के नर्गने ? भन्ने । त्यही तालिका अनुसार नै उनी आफ्नो व्यस्त लाइफलाई मिलाएर अघि बढ्छन् । हालसम्म एक दर्जन हाइकिङ धरानमै गराइसके । उनले निशानडाडा, किरात बस्ती, चिसापानी, चिण्डेडाडा माथि, फुस्रे माथि हाइकिङ गरिसकेका छन् । उनको हाइकिङ गराउने शैली पनि केही परिपक्व छ । ‘सुरुमा आफै गएर ठाउँहरु, बाटोहरु अवलोकन गर्छु ।’ उनी भन्छन् ‘त्यसपछि मात्रै अन्यलाई लिएर जान्छु ।’ hiking1 रुटको पहिचान मात्रै हैन, बाटोको लम्बाईसँगै त्यस क्षेत्रका अपाङ, अनाथ, असहायहरुलाई सेवा गर्ने पनि हाइकिङको उद्देश्य हुन्छ । ‘हाइकिङसँगै च्यारिटी फण्डसमेत संकलन गरेर सहयोग गर्छाै ।’ उनी भन्छन् । जागिरमै रहँदा पनि नेपालमा छुट्टीका बेला आउँदा हाइकिङ गराउथे । तर, त्यो बेलाको हाइकिङ सामान्य घुम्ने मात्रै हुन्थ्यो । फोटोग्राफीमा शौख भएकाले नेचरसँग रमाउनु हाइकिङको उद्देश्य थियो । तर, अहिले फरक उद्देश्य राखेका छन् । हाइकिङसँगै सहयोग जुटाउँदै अरुको सेवामा तल्लिन हुनु । १२ किलोमिटर छोटो हाइकिङदेखि लिएर १७ किलोमिटरसम्मको हाइकिङ रुट पत्ता लगाएका छन् । र, अहिलेसम्म त्यहाँ हाइकरदेखि सामान्य मानिसहरुलाई पुर्याइसकेका छन् । रुट पत्ता लगाउँदा खेरी नै कस्का लागि च्यारिटी फण्ड जुटाउने भन्ने निश्चित गरिसकेको उनी बताउँछन् । अहिलेसम्म त्यस्तो च्यारिटी फण्डमा ४ हजार रुपैयादेखि ३५ हजार रुपैयासम्म संकलन गरेर १२ जनालाई दिइसकेको स्मरण गर्छन् । हिड्दाको रमाइलो त छदैछ, कसैको जीवनसमेत परिवर्तन हुन्छ भने त्यो जति आनन्द केहीमा पनि नआउने उनी बताउँछन् । अहिले उनको फरक लाइफ छ । आर्मीमा हुँदा नियमित समयमा उठ्ने, खाने, हिड्ने, बस्नेदेखि लिएर सबै काम नियमित र अर्काको आदेशमा हुन्थ्यो भने अहिले उनी आफ्नो सेड्युलमा हिड्छन् । ४३ वर्ष पुगेका यि पूर्व लाहुरेले आफ्नो जीवनलाई सार्थक बनाउने तर्फ तल्लिन छन् । उनी बेलायतमै आवसीय रुपमा बस्न सक्छन् । तर, उनी त्यो चाहादैनन् । आफ्नै देशमा रहेर समाजसेवा गर्नु, देशको प्रकृतिसँग रमाउँदै अरुलाई हिडाउनु उनलाई मज्जा लाग्छ । उनी भन्छन् ‘विदेशमै जागिर खाइयो । विदेशमै दुःख गरियो । अव आफ्नै देशमा बसेर केही गर्ने सोच छ । त्यसैले अव विदेश जाने भन्दा यही केही गरेर बस्छु ।’ उनी भन्छन् ।