धनकुटा / बस दुर्घटनामा बिहीबार हरिराज खेवाको निधन भएपछि धनकुटावासी शोकाकुल भएका छन् । दिवङ्गत खेवा सानैदेखि तीक्ष्ण प्रतिभा र हक्की स्वभावको रहेको उनलाई नजिकबाट चिन्ने साथीहरु बताउँछन् ।
०२५ साल कात्तिक २३ गते बुबा हृदयमान खेवा लिम्बू र आमा तीर्थमायाको कोखबाट धनकुटाको हात्तीखर्क–६ मा जन्मिएका खेवा तीन दिदीका जेठा भाइ तथा एक भाइ र एक बहिनीका दाजु थिए । बाल्यकाल गाउँमै बिताए पनि प्राथमिकदेखि मावि तहसम्मको शिक्षा धनकुटा नगरपालिका–६ को गोकुण्डेश्वर उच्च माविबाट लिएका थिए । उनले ०४५ सालमा त्यहीँबाट एसएलसी उत्तीर्ण गरेका थिए । मावि तहमै छँदा अनेरास्ववियुबाट विद्यार्थी राजनीति थालेको खेवालाई विद्यार्थी कालदेखि चिन्ने अधिवक्ता एवम् धनकुटा क्याम्पसका प्राध्यापक तेजनारायण सिंह राईले बताए ।
खेवाले धनकुटा बहुमुखी क्याम्पसबाट अर्थशास्त्र विषयमा स्नातक तहसम्मको अध्ययन पूरा गरेका थिए । हाईस्कुल पढ्ने क्रममा अखिलको राजनीति गरे पनि धनकुटा क्याम्पसमा आएपछि उनले मसालनिकट अखिल छैठौँमा रहेर विद्यार्थी राजनीति गरेका थिए । धनकुटा क्याम्पसमा विद्यार्थी छँदा उनी नाटक लेखन र अभिनयमा उत्तिकै सक्रिय भएको खेवाका सहकर्मी जयपूर्ण भुजेलले बताए । भुजेलका अनुसार ०४७ देखि ०५१ सालसम्म खेवाले सडक नाटक र रेडियो नाटक आपैंm लेखेर आपैंm अभिनय गर्ने गरेका थिए । क्याम्पस पढ्दाको क्षणलाई सम्झँदै भुजेल भन्छन्, ‘खेवा हक्की, आँटिला, जोशिला र मिलनसार भएकै कारण उनी हरेक खुड्किलामा सफल हुन्थे ।’ रेडियो नेपालको धनकुटा क्षेत्रीय प्रसारण केन्द्रले ०४३ सालमा आयोजना गरेको पूर्वाञ्चलस्तरिय नाटक प्रतियोगितामा उनी प्रथम भएको पनि भुजेलले बताए । द्वन्द्वकालमा उनले सत्तामाथि प्रहार गर्दै अपेरा, जेमन्त जस्ता एक दर्जनको हाराहारीमा नाटक लेखेर आपैंmले अभिनय पनि गरे ।
०४९ देखि ५४ सालसम्म हात्तीखर्ककै जनकल्याण प्राविमा शिक्षण गरेका खेवा ०५४ सालको स्थानीय निकायको निर्वाचनमा राप्रपाबाट उठेका स्वर्गीय लोकेन्द्र तिगेलालाई पराजित गरी एमालेका तर्पmबाट भारी मतले गाविस अध्यक्षमा निर्वाचित भए । विद्यार्थी कालदेखि नै वामपन्थी राजनीति गरेका खेवा राजनीतिलाई गाउँको विकाससँग जोड्दै स्थानीय जनताको मन जित्न सफल भई नै रहेका थिए । द्वन्द्वकालमा राजनीतिमा केही समय निष्क्रिय भएका खेवा विस्तृत शान्ति सम्झौतापछि एमाओवादीमा प्रवेश गरेर ०६४ को पहिलो संविधानसभा निर्वाचनमा धनकुटाको क्षेत्र नं.२ बाट प्रत्यक्षतर्पm निर्वाचित भएका थिए । पहिलो संविधानसभामा खेवाले एमालेका धर्मराज पौडेल र पूर्व प्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापालाई पराजित गरेका थिए ।
पहिलो संविधानसभामा खेवा सभासद् मात्र भएनन्, उनी अर्थ राज्यमन्त्रीसमेत हुन सफल भए । दोस्रो संविधानसभा निर्वाचनमा भने उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार पूर्वप्रधानमन्त्री थापाका छोरा सुनिलबहादुर थापाबाट पराजित भए । खेवा पछिल्लो समयमा नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक कमिटीका केन्द्रीय सदस्य एवम् धनकुटा जिल्ला संयोजक थिए । उनी पार्टीका पूर्व जिल्ला सदस्य यामकुमार कार्कीका बुबाको मृत्युमा समवेदना व्यक्त गर्न बुधबार बेलुका मारेककटहरे गएका थिए । त्यहाँबाट फर्कने क्रममा बिहीबार धनकुटाको चित्रेबाट जिल्ला सदरमुकाम आउन गाडी चढेको १५ मिनेट नबित्दै बस दुर्घटनामा परी यो संसारलाई सदाका लागि छाडेर गए । उनका २ छोरी र एक श्रीमती छन् ।