mina

नारी मुक्तिको गीत गाउने दिन भने पनि स्वतन्त्रताको चाड भने पनि बिलौना गाउने इतिहासको दिन भनेपनि नेपाली हिन्दु महिलाहरुको तीज पर्व घर दैलोमा आइपुगेको छ । यो पर्व कहिलेदेखि सुरु भयो भन्ने यथार्थता नभेटिए पनि पौराणिक कथा अनुसार पार्वतीले शिवलाई पतिको रुपमा भनेर अन्न जल नखाई उपवास बसेपछि शिवलाई प्राप्त गरेको भन्ने उल्लेखित छ । त्यहि पौराणिक कथा अनुसरण गर्दै हिन्दु महिलाहरुले आफ्नो पतिको दिर्घायुको सु–स्वास्थ्यको कामना गर्दै निराहर ब्रत बस्ने चलन चलिआएको पाईन्छ । माईतीबाट छोरी चेलीलाई लिन जाने, माईतीघरमा आफ्नो गच्छे अनुसारको मिठो मसिनो खाने, खुवाउने एकदिन भएपनि आराम गर्ने यो पर्व कतै ब्रत बस्ने अघिल्लो दिन माईतीघर पुगेर उज्यालो हनु अघिसम्म दरको रुपमा खीर, ढकने, चाम्रे, ईत्यादी खाने प्रचलन रहिआएको पाईन्छ । हिन्दु धर्मग्रन्थ अनुसार पतिलाई परमेश्वरको रुपमा मान्नुपर्ने उल्लेख छ । अझ महिलालाई मानवको रुपमा नस्वीकार्ने मनुस्मृतिले महिलाले पति भक्ति जयजयकार गर्नुपर्ने, पतिलाई जवाफ फर्काउन नहुने, सँधै पतिको बसमा रहनु पर्ने, पतिको मृत्युपछि राम्रो हुन नहुने, मिठो पौष्टिक खाना खान नहुने उल्लेख गरेको पाईन्छ र तिनै धर्म ग्रन्थलाई पक्षपोषण गर्दै आएको हाम्रो संस्कृति रितीरिवाज पितृसत्तात्मक सामन्ति चिन्तनले जकडिएको छ । समाज परिवर्तनको क्रममा मातृसत्तात्मक परिवारबाट पितृसत्तात्मक परिवारमा पुग्दा पुरुषले महिलामाथि शासनको सुरुवातमा महिलालाई बन्दीको रुपमा हातखुट्टा बाँधेर राखेको ती नेलकडी सिक्रिहरु अहिले गहनाका रुपमा प्रयोग भैरहेका छन् । यो पर्व अविवाहित युवा महिलाहरुले असल पति प्राप्त गर्न शिवजीको पुजा आराधना गरेर ब्रत बस्छन् भने विवाहित महिलाहरुले आफ्नो पतिको सु–स्वास्थ्य र दीर्घायुको कामनाका लागि ब्रत बस्छन् तर आजसम्म कहिल्यै काहीँ पनि सुनिने गरेको छैन की कोही पुरुषले पत्नीको सु–स्वास्थ्यको दीर्घायूको कामना गरेर ब्रत बस्ने गरेको बरु एउटी पत्नी घरमा हुँदाहुँदै श्रीमतीहरु बटुल्दै हिँड्ने, धेरैवटी श्रीमती राख्ने व्यभिचारी पुरुषहरु भेटिन्छन् । पत्नीले ब्रत बस्दा आयु लम्बिने भए धेरैवटी पत्नीका पतिको आयु कति लामो हुदो हो ? त्यसो त सबै पुरुष व्यभिचारी हुन्छन् भन्ने पनि होईन हाम्रो समाजमा अधिकांश महिला हिंसाको कुरा उठ्ने गरेको पाईन्छ । महिलाले पुरुषमाथि पनि हिंसा हुने गरेको पाईन्छ, हिजो आज पत्नीले पतिलाई चित्त नबुझे पतिको गालामा थप्पड बजार्ने पत्नीहरु पनि पाइन्छन् तर तिनको चर्चा कहिं गरिन्न भएमा विचरा ति पुरुषहरु जोईटिङ्ग्रेको दर्जामा गनिन्छ । हाम्रो समाजको हेराईमा महिला संधै पोईटिङ्ग्री भएर सहनशिला शुशिला हुँदै पुरुषका हरेक यातनालाई सहदै घर गरिखाने महिलालाई असल महिला ठानिन्छ । समाज बर्बर युगबाट सामन्ती रुपान्तरण भैसकेपछि महिलालाई अधिनस्त राख्नको निम्ती नितान्त दासी र बच्चा जन्माउने साधनको रुपमा प्रयोग गर्न खोजेको छ । यिनै पुरुष चिन्तनलाई सामन्तवादी पितृसत्तात्मक समाजमा बैद्धता प्राप्त गर्ने चाड हो । यो पर्व पुरुषको प्रभुत्वलाई संस्कारीक गनर्,े जसरी पनि पति बाहेक अरुलाई श्रेष्ठ नठान्ने, पतिलाई पूजागर्ने अलौकिक देवता होईन प्रत्यक्ष देवता मान्ने पुरुष प्रभुत्वको पूजा गर्ने परम्परागत चाड हो यो । हाम्रो समाज अझै पनि सामन्तवादी पितृसत्तात्मक सोचबाट ओतप्रोत छ । हामी भित्रै पितृसत्तात्मक चिन्तन हावी छ । युगौंदेखि महिलालाई दासीको रुपमा प्रयोग गर्दै आएको पुरुष चिन्तन पुरुषमा मात्र होईन यो समाजको आधा हिस्सा महिला भित्र पनि पाईन्छ । यो चिन्तनले साँस्कृतिक रितीरिवाजमा मात्र नभई सामाजिक, आर्थिक, राजनैतिक हरेक पाटोमा छाएको पाईन्छ । समाज विकासको रुप आजको स्थितिमा आईपुग्दा हामी कहा दुई खाले पुरुष चिन्तन भेटिन्छन् । एकले तीजको ब्रत बस्दा मेरो स्वास्थ्य राम्रो हुने होईन तिम्रै स्वास्थ्य चाहिँ बिग्रन्छ त्यसैले ब्रत नबस, तिम्रो ब्रतले मेरो आयु लम्बिने होईन तिम्रो आयु छोटिन सक्छ भन्छन् भने अर्का थरी पुरुष भने के गर्ने “हाम्रो सँस्कृति हो, चलिआएको परम्परा हो गोडा धोएर पानी खाउ भनेर गोडा तेर्साउछन् भने, बर्तै नबसे पनि रातो साडी चाहीँ लाउनु है” भन्ने चिन्तन पाईन्छ । ब्रत बसेको दिन श्रीमानले साँझ खाउ नभनी खान नहुने टाढा रहेको छ भने श्रीमानले फोन मार्फत खाउ नभनेकोले भोकै बस्न परेको गुनासो सुन्न पाईन्छ । हामी कहाँ सबै पुरुषहरु पितृसत्तात्मक सोचले ग्रस्त छन् भन्ने होईन महिलावादी सोच राख्ने, महिला र पुरुष समान हो भन्ने सोच राख्ने पुरुषहरु पनि पाईन्छन् । महिलाले महिलालाई हिँसा गर्ने, दुव्र्यवहार गर्ने प्रचलन हामीसँग तीतो सत्य छँदैछ । सासु–बुुहारी, नन्द भाउजु बिच न्यानो भन्दा चिसो सम्बन्ध, एउटी महिला अर्की महिलालाई विस्थापित गरेर सौता बन्ने, एक महिलालाई गरिने चियो चर्चा महिलाले नै अधिकांश गरेको पाईन्छ । त्यसैले यस्ता प्रवृतिलाई हटाउन सामन्तवादी पितृसत्तात्मक चिन्तनलाई हटाउन सामन्तवादको जरो कहाँ छ खोजी गरिनु पर्छ र उखेल्नु पर्छ । हिजो आज तीजको अवसरमा श्रृंगार सम्बन्धि उद्यमी व्यवशायी महिलाहरु धेरै व्यस्त हुने गरेको पाइन्छ । चुरा, कृष्टल, पोते, मोतिका रङ्गीबिरङ्गि डिजायन गर्नमा व्यस्त रहेको पाइन्छ । हातमा विभिन्न शीप भएरपनि घर मै सिमित हुदै आएका महिलाहरुको शीपलाइ तीज पर्वको अवसरमा हुने गरेका महोत्सवले बजार सम्म पुर्याउनृृ गरेको पाइन्छ । यो सकारात्मक पाटो बन्दै गरेको छ । आफू तीज नमनाए पनि नँया नँया डिजायनको गहना चुरा पोतेबाट अरुलाइ सिंगारने काममा महिलाहरु नै व्यस्त हुने गरेको पाइन्छ । तीजको अवसरमा एक पटक हुने गरेको महोत्सवले बर्ष भरि नै प्रभाव पार्ने भएकोले महिलाहरुलाइ आत्मनिर्भर र उद्यमी बन्न प्रेरित गरेको पाइन्छ । त्यसैले हिजो आज हुने गरेको तीज पर्वलाई आत्मनिर्भरताको अवसरको रुपमा पनि मनाउन पर्छ । तर, हिजो आज परम्परागत रुपमा हिन्दु महिलाहरुले महान चाड भनेर मनाउदै आईरहेको तीज तडकभडक सहित महिना दिन अघि देखि मनाउन थालिएको छ । अझ राजधानिमा तिजमा दर खानका निम्ति चन्दा बटुल्ने चलन पनि विद्यमान छ, ठाउँ–ठाउँमा तीज मेलाहरु सुरु भएका छन् । लाखौ खर्चिएर गरिने विभिन्न पार्टि प्यालेसमा दर खाने, नाचगान गर्ने चलन भित्रिएको छ । पाँचतारे होटल, डान्सबारमा तीजको भाकाहरु ग्ुन्जिने रतौलीमा रुपान्तिर भएका गीतहरु अख्तियार अनुसन्धान आयोगको अनुसन्धानात्मक झन्झटमा नपर्न होला सायद बितेका साल भन्दा तामझाम देख्न र सुन्न कम भएको छ । तीजमा खाईने खीर, चाम्म्रेहरु परिवर्तन भएर अरु खाद्यपदार्थ पनि भेटिन थालेका छन् । धैरै गहना र रातो साडी तडक भडक जहाँ छन् त्यहाँ मिडियाको पनि पहुँच पाईन्छ । प्रचार–प्रसार त्यहाँ पाईन्छ । सासुले, नन्द आमाजुले दिएको दुःख–पीडा साटासाट गर्ने गुनासा पोख्ने महान चाड भन्दै आएको चाड आज कस्को साडी कति महँगो, कसको गहना कति भनेर प्रदर्शन गर्ने पर्वको रुपमा स्थापित हुँदै गएको पाईन्छ । यस्ता हैसियत प्रदर्शनले सम्पन्न परिवारमा त रमाईलै होला तर विपन्न पविारमा झै–झगडा र आत्महीनता बोध गराउँन सक्छ । तीजको अवसर पारेर एकै दिनमा ४–५ ठाउमा तीजका आधुनिक परिकार खान छड्के तीलहरी र गहनाले झ्याप्प भएर ३० हजार भन्दा बढी मुल्य पर्ने साडी झल्काएर डिस्कोमा नाच्न भ्याइ नभ्याइ भइरहेको बेला विपन्न घरका दिदीबहिनीहरुलाई तीज पर्व टार्न र जोहो गर्न पीडा र चोट सहितको पर्व आएको पाइन्छ । युगौंदेखि महान पर्व भनेर हिन्दु महिलाहरुले मानि आएको तीज पर्वलाई पुरुष बर्चश्वको जयजयकार गर्ने दिन होईन, महिला अधिकारलाई सुनिश्चित गर्ने, उद्घोष गर्ने दिन बनाउनु पर्छ । पीडित भएको शोषित आवाजहरुलाई बुलन्द गर्नु पर्छ । वर्तमान परिस्थितीमा मानिदै गरेको तीज राजनितीक केन्द्रित पनि हुनु पर्छ । समय संगै व्यवस्था परिवर्तन संगै महिलाहरु पनि प्रगतीपथमा हिडेको देखिन्छ । पहिलो महिला राष्ट्रपति बिद्यादेवी भण्डारी, पहिलो महिला सभामुख ओनसरी घर्तीमगर, पहिलो महिला प्रधान न्यायधिस शुसिला कार्कीले देशमा शक्तिशाली पदमा रहेर महिला समानताको उद्घोष भइसकेको छ । यीनै सिडी मार्फत समानताको लडाइको अन्त गर्नुपर्छ । विश्वको इतिहासमा परिवर्तन एकैचोटि भएका छन, क्रमशः रुपान्तरण गर्दै गनासो र दुःखलाई गीत बनाएर गाउने परम्परालाई आमुल परिवर्तनको निमित्त सशक्तिकरण र आवाजहरु उठ्नु उठाउनु पर्छ । पितृसत्तात्मक चिन्तनले भरिएको समाजकै चेतना–चिन्तन परिवर्तन हुनुपर्छ, महिला पुरुषबिचको विभेद हटाई समान सहभागिता खोजिनु पर्छ । सबिधानमा हक सुनिश्चित गराउन तर्फ ध्यान केन्द्रित हुनु पर्छ । नारी मुक्तिको प्रश्न, संस्कृतिसँग मात्र जोडिएको छैन, साँस्कृतिक सँघर्षसँगै सामाजिक, आर्थिक रुपमा पनि परिवर्तन हुनुपर्छ । वर्गीय मुक्ति विना नारी मुक्ति संभव छैन भन्ने कुरालाई आत्मसाथ गर्नु पर्छ अनिमात्र वास्तविक महिला मुक्तिको ढोका खुल्न सक्छ । युगको पविर्तनको सम्वाहक युवा पिढीले परम्परागत रुपमा महान पर्व भनेर मनाउदै आएको तीज पर्वको नकारात्मक परम्परालाई परिवर्तन गर्नु पर्छ । आर्थिक हैसियतको मापन गर्ने विकृतिको अन्त्य गर्दै महिला पुरुष समान भन्ने कुरालाई उद्घोष गर्न तीजमा केही नखाई, नपिई भोकै बसी मनाउने पर्व बहिष्कार गर्न सक्नुपर्छ । दुई सयको फरिया फेर्न नपाएर माईत जान नपाउने र बिस हजार भन्दा बढी मुल्य पर्ने सितारा र जडीले भरिएको साडीमा रम्ने निम्न वर्ग र उच्च वर्ग बिचको खाडल बढाउने प्रथाको अन्त्य गरिनु पर्छ । महिला र पुरुष वीचको विभेदको जरोलाई उखेल्नुपर्छ । सदाको लागि समानताको आकाश खुल्ला गरिनुपर्छ ।