उधौली पर्व
किराँतहरुको महान चाड साकेलाको दुईवटा पर्विय पक्षहरु छन्, उगौली र उधौंली । उँगो भन्नाले ठेट नेपाली शब्दमा माथी भन्ने बुझाउँदछ र उँधो भन्नाले तल भन्ने बुझाउँदछ । ठेट नेपाली गीत अनि शव्दावलीहरुमा उँगो र उँधो शव्दको पर्याप्त प्रयोग भएको पाइन्छ । तल माथि या प्रगती अनि दुर्गती लगायत शुरु या अन्त्य जनाँउन उँगो र उँधो शव्दको प्रयोग भएको पाइन्छ । हरेक वर्षको मसिंर पूर्णिमाका दिन उधौंली पर्व पर्दछ, किराँती मान्यता अनुसार आजको दिनदेखि हिउँद शुरु भयो, हिँउदको शुरु भएलगत्तै लेकवाट बस्तुभाउ अनि चराचुरुंगी लेकबाट बेसीतिर बसाई सर्ने समय भएको संकेतका रुपमा लिइन्छ । साथै अन्नबाली भित्र्याइएको खुशीयालीमा यो पर्व मनाइन्छ । किराँतहरुको धार्मिक पुस्तक 'मन्धुम'मा एउटा समग्र वर्षलाई चराहरुको बसाइसराइलाई आधार मानेर दुई भागमा विभाजन गरिएको छ, उगौली र उधौंली ।

योमरि पुन्हि तथा १४औं ज्यापु दिवस्
त्यसै गरि आज काठमाण्डाै उपत्यका लगायत देशैभरी छरिएर रहेका विविध प्राचिन संस्कृति र परम्पराका धनी नेवार समुदायले योमरि पुन्हि मनाउँदैछन् । कृषि कार्यसंग आजको धान्य पूर्णिमाले विशेष महत्व बोकेको छ । योमरि पुन्हि अर्थात् पूर्णिमाबाट औपचारीक रुपमा धान काट्ने कार्य सम्पन्न गरिन्छ । नयाँ धानको चामलको पिठोलाई माछाकोजस्तो स्वरुप बनाएर त्यस भित्र चाकू, तिल, दूधको खुवा आदि राखेर पानीको बाफबाट योमरि तयार पारिन्छ । योमरि अत्यन्तै स्वादिष्ट हुन्छ, मैदाको पिठो भित्र तरकारी र मासुका किमा हालेर मःमः बनाए झै योमरिलाई पनि पानीको बाफमा पकाइन्छ । तेल या अन्य चिल्लोपना नभएको यो परीकार स्वास्थ्यका हिसाबले हीतकारी छ । योमरि कै जस्तो तर भित्र केही पनि नहालीकन चामलको पिठोलाई पानीको बाफमा राखेर पूर्वी नेपालमा हिउँदका बखत भक्का खाने चलन छ । नयाँ धानको चामलको यस्ता भक्काहरुलाई पिरो अचारमा तात्तातो चोपेर खाने गरिन्छ । यस वर्षको भक्का खाने औपचारीक दिन पनि आजबाटै प्रारम्भ हुने जनउक्ति छ ।
योमरिको त्रिकोणात्मक आकारले षटकोणको अर्धभागको रुपमा सरस्वती अथवा ज्ञानको प्रतिबिम्बको रुपमा लिइन्छ । पानीको देवताकारुपमा काठमाण्डौवासीले मछिन्द्रनाथलाई मानेजस्तै अन्न अथवा उब्जनीकी माता अन्नपूर्णालाई नयाँ उब्जनी अनि त्यसबाट बनेको खानेकुरा योमरि चढाउने परम्परा शदिअाैंदेखि चलि अाएको हो ।
नेपाली पारम्परीक चाडबाड तथा संस्कृतिका विशेष क्षणहरूमा विविध साङ्गीतिक अभ्यासहरूले पनि अाफ्नो बेग्लै स्थान बनाएको छ । शायदै त्यस्ता कुनै चाडबाड होलान जसमा विशेष खाले गीत सङ्गीतले ठाउँ नपाएको होस् । योमरि पुन्हिका दिन पनि यससंग सम्बन्धित विशेष नेपाल भाषामा गाइने एउटा विशेष गीत छः
य:मरि च्वामु, उकिइ दुने हामु,
बिउम्ह ल्यासे, मबिउम्ह बुरिकुति
त्य: छिं त्य:, बकछिं त्य:
लातापाता कुलिचां जुसें त्य:....
यसदिन केटाकेटीहरु रमाईलो गर्दै छरछिमेकको दैलोमा गएर योमरी माग्ने चलन पनि छ, काठमाण्डौको हरिसिद्धी र ठेंचोमा आज एउटा विशेष मुखौटो लगाएर नाच देखाईने चलन पनि परापूर्वकालदेखि हुँदैअाएको पाइन्छ ।
योमरि कसरी बन्यो भन्ने कुराहरूमा भने अहिलेको पनौती रहेको ठाउँमा एउटा परिवारले नयाँ धानको चामलबाट बनाएको नयाँखाले परिकारका रुपमा योमरि देखा परेको र सम्पूर्ण गाउँलेहरुलाई उक्त परिकार चाख्न दिएकोमा सबैलाई मनपरेर योमरि नाम दिएको जनउक्ति छ, नेपाल भाषामा योमरि भन्नाले मिठो रोटी भन्ने बुझाउँदछ ।
योमरिको प्रसङ्ग देवगणसंग पनि जोडिएर अाउँछ, नेवार समूदायमा प्रचलित कथाहरूका अनुसारः योमरि देखा परेकै दिन धनका राजा कुबेर भेष बदलेर बाटोमा हिंडि रहेका हुन्छन् यसरी भेष बदलेर हिंडिरहेका बटुवा कुवेरबारे थाहै नभएपनि उनलाई सत्कारपूर्वक सप्रेम योमरि खान दिएको कथा छ । कुबेर यो सत्कारबाट प्रसन्न भई धनधान्यले अपार वरदान दिएको मानिन्छ । योमरिझै सबैको जीवनमा मिठास होस्, स्वास्थ्य राम्रो होस् अनि सबैको यो हिउँद राम्रोसंग बितोस् ।
साथै अाजैको दिन ज्यापु दिवस पनि मनाइने गरिन्छ । ज्यापू सस्कृतीको रक्षार्थ बिसं २०६१ सालवाट यस दिवस मनाउन थालिएको हो । नेवा संस्कृति, संङ्गीत, बाजागाजा, भेषभूषा तथा एकता जस्ता पारम्परीक महत्वका अमूल्य धरोहरको जगेर्नाका साथै नयाँ पुस्तामा यसको ज्ञान समेतकालागि हरेक वर्ष काठ्माण्डाै उपत्यकाका भिन्ना भिन्नै स्थानको अगुवाइमा अायोजना हुने ज्यापु दिवस अाज काठमाण्डाैको कमलादीबाट प्रारम्भ हुँदैछ । धिमे बाजाको तालमा जात्राको रौनक नै अभूतपूर्व हुन्छ र त्यसमाथी हाकु पटासी अनि ज्यापु लः अर्थात ज्यापु लुगाले त झन जात्रा हेर्नलायकको देखिन्छ । यस १४औं ज्यापु दिवस् ज्यापु दिवस ११३८ विभिन्न नेवारी सभ्यता सहितका विभिन्न सांस्कृतिक झाँकिहरू देखाउने परम्परा रहि अाएको छ ।
एकातर्फ किराँतरुको अनि अर्कोतर्फ नेवा हरुको बिशेष आजको दिनले नेपालको बिभिदताको एउटा दृष्टान्त अनि एकताको सन्देश पनि दिएको छ ।
आजको दिनको सबैलाई शुभकामना, सबैको जयहोस् ।
सुयोग ढकाल, हाम्रो पात्रो