धनकुटा । स्थानीय कोदोको रक्सी प्रवद्र्धन गर्न झापामा समिति गठन गरिएको छ ।
आयआर्जनको माध्यम बनाउन झापामा जिल्लास्तरीय प्रवद्र्धन समिति मङ्गलबार गठन गरिएको हो । सर्मिला आङ्देम्बेको संयोजकत्वमा २१ सदस्यीय स्थानीय रक्सी प्रवद्र्धन झापा जिल्ला कार्यसमिति गठन गरिएको हो । जिल्लाभरिका सबै जातजातिलाई समावेश गरी समिति गठन गरिएको प्रचार–प्रसार समितिका प्रदेश १ संयोजक दीपिन राईले बताए ।
समिति गठनपूर्व कार्यपत्र प्रस्तुत गरिएको थियो । प्रवद्र्धन समितिका सदस्य सर्मिला सिङ्घकले कार्यपत्र प्रस्तुत गरिन् । प्रदेश १ का १४ जिल्लामा कार्यसमिति निर्माण गर्दै जाने जनाइएको छ । कार्यपत्रमाथि बुद्धिजीवी देशु वनेम, फोनिजका निवर्तमान प्रदेश १ इन्चार्ज एवम् प्रचार–प्रसार समितिका संयोजक दिपिन राई, आदिवासी जनजाति महासङ्घ झापाका अध्यक्ष भरतकुमार श्रेष्ठलगायतले सुझाव दिए ।
प्रवद्र्धन समितिका प्रदेश १ का संयोजक टेकबहादुर खजुमले प्रदेश नं. १ को नीति तथा कार्यक्रममा कोदोको रक्सीलाई आयआर्जनको रूपमा लैजाने गरी परियोजना पास गरिएको जानकारी गराए ।
उनले परियोजना निर्माणका लागि प्रवद्र्धन समितिले मुख्यमन्त्री, अर्थमन्त्री, पूर्व सामाजिक विकास मन्त्री तथा कोदोको रक्सीका अभियन्ता उषाकला राई, उद्योगमन्त्री प्रकाश प्रताप हाङ्गामलगायतलाई पटक–पटक ज्ञापन–पत्र बुझाएको बताए ।
झापा जिल्लाका विभिन्न पालिकाहरूबाट बृहत् सहभागिता रहेको कार्यक्रममा प्रवद्र्धन समितिका संयोजक खजुमले इलाम, पाँचथर, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, सङ्खुवासभालगायत जिल्लाबाट प्रवद्र्धन समितिमा जोडिएको बताए ।
बिउ, सिंचाइ अभावमा स्थानीय प्रजातिको कोदो नासिँदै गएको छ । कोदोको रक्सी बनाउन आवश्यक ओखती (मर्चा) का लागि चाहिने कच्चा पदार्थ जङ्गली जडिबुटीहरूको पनि संरक्षण गरिनु पर्ने संयोजक खजुमले बताए ।