अर्थमन्त्री जनार्दन शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा उनि माथि उठेका प्रश्नहरूको जवाफ दिदै मन्त्री शर्माले राजिनामा दिएका हुन् ।
उनले आफूले गल्ती नगरेको तर आफूमाथि प्रश्न उठ्नुका साथै राजिनामाको माग भएकोले नागरिक समाज, विद्यार्थी लगायत सबैको धाराणालाई सम्मान गर्दै आफूले पदबाट राजीनामा दिएको बताएका छन् ।
प्रतिनिधिसभाले आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा अनधिकृत व्यक्तिको संलग्नताबारे उठेको प्रश्नको छानबीन गर्न संसदीय छानविन समिति गठन गरेको छ । उक्त संसदीय समिति ११ सदस्यीय रहेको छ । संसदीय समिति गठनसम्बन्धी जानकारी सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई गराएका थिए ।
समितिमा खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल गौतम, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो र सुरेन्द्रप्रसाद यादव सदस्य रहेका छन् ।