काठमाडौँ /आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ ।
आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ ।
आजको दिन राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ । माता दुर्गाका तीन रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।
आज अपराह्न १२ः२२ मिनेटसम्म ९१५ घडी ४४ पला० चतुर्दशी र त्यसपछि पूर्णिमा तिथि लाग्छ । मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आज भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । कोजाग्रत पूर्णिमाका लागि उदय नभई मध्यरात्रि व्यापिनी लिइने भएकाले शनिबार नै महालक्ष्मीको पूजा आराधना गर्नुपर्ने समितिले जनाएको छ । लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व रहेको छ ।
“आज मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा र सबै बलि पूरा गर्ने दिन अर्थात् अखिल बलिपूर्ति आजैलाई निर्णय गरिएको हो, दशमीको पाँचौँ दिन सबै बलिपूर्ति गर्नुपर्ने विधान छ”, उनले भने ।