धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी कोरोना सङ्क्रमण भएर आइसोलेसनमा बसिरहेका छन् । तर, पछिल्लो समय उनले आइसोलेसनबाटै कर्मचारीहरूको सरुवा र नियुक्ति गर्न थालेपछि विवाद उत्पन्न भएको छ ।
प्रतिष्ठानकै कर्मचारीहरूले उपकुलपति गिरीले व्यापारीको स्वार्थमा आफू अनुकूलका कर्मचारीलाई बढुवा र अन्यलाई सरुवा गरेको आरोप लगाएका छन् । प्रतिष्ठानको खरिद शाखाका प्रमुख विष्णु चापागाईंलाई असोज ६ गते सरुवा गरेर फ्याकल्टी ब्लकमा पठाइएको थियो । खरिद शाखामा सरुवा भएको साढे ३ महिनामै उनको सरुवा गरिएको हो । उनको ठाउँमा अशोक साहलाई नियुक्त गरिएको थियो । मेट्रोनमा प्रतिष्ठान स्रोतका अनुसार गैरकानूनी खरिद प्रक्रियाको चापागाईंले विरोध गर्दै आएका थिए ।
उपकुलपति गिरीले गत शुक्रबार प्रतिष्ठानको सिभिल इञ्जिनियरिङ विभागका प्रमुख इञ्जिनियर मदनकुमार साहलाई हटाएर ओभरसियर स्तरका विकास बस्याललाई प्रमुखको जिम्मेवारी दिए । यो सरुवा तथा नियुक्तिमा पनि विवाद उत्पन्न भएको छ । साहले आफूलाई बिना जानकारी अकस्मात हटाएको चिठ्ठी पठाइएको बताए । उनले भने, ‘सरुवा गर्ने, हटाउने पनि प्रक्रिया हुन्छ । आइसोलेसनमा रहनुभएका उपकुलपतिले अकस्मात पत्र पठाउनुभयो । मलाई किन हटाइयो भन्ने त बुझ्न पाउनु पर्छ नि ।’
यसअघि बिना जानकारी मेट्रोन उपेन्द्र यादवलाई पनि हटाएर गायत्री राई नियुक्ति गरिएको थियो । मूल्याङ्कन समिति सदस्यसमेत रहेका कानूनी सल्लाहकार अश्विनीकुमार भट्टराईलाई नियुक्ति गरेको एक महिनामै गत बुधबार बिदा दिएको छ । कर्मचारी नियुक्ति वा सरुवा गर्नुपर्दा उपकुलपतिले अन्य पदाधिकारीसँग छलफल समेत गरेका छैनन् । कर्मचारी नियुक्ति गर्दा रजिष्ट्रारको सिफारिसमा उपकुलपतिले नियुक्त गर्ने प्रचलन रहे पनि उपकुलपतिले आफूखुसी नियुक्त गरेको आरोप लाग्ने गरेको छ । कर्मचारी सरुवा र नियुक्तिमा उपकुलपतिका स्वकीय सचिव दिलिप भट्टराईको सक्रियता रहेको कर्मचारीहरू बताउँछन् ।
प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले आफू प्रतिष्ठानको काममा काठमाडौं गएर भर्खरै फर्किएको र आइतबार आफूले जानकारी पाएको बताए । उनले भने, ‘मलाई यो विषयमा खासै थाहा छैन, भर्खर पत्र भने पाएको छु । उपकुलपति आइसोलेसनमा भएकाले त्यहाँबाट फर्किएपछि छलफल गर्छु ।’
यस विषयमा बुझ्न पटक–पटक सम्पर्क गर्दा पनि उपकुलपति गिरीले भने फोन उठाएनन् । उनका स्वकीय सचिव दिलिप भट्टराईले भने कर्मचारीहरूको सरुवा र नियुक्ति नियमित प्रक्रिया भएको बताए । उनले भने, ‘कार्य क्षमताका आधारमा पनि सरुवा र नियुक्ति हुने हो । प्रतिष्ठानको हितका लागि आवश्यक कर्मचारीहरूको सरुवा र नियुक्ति भएको हो । यसमा अन्यथा मान्नुपर्ने कारण छैन ।’
मुद्दा लागेका व्यापारीसँग खरिद
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षअघि प्रतिष्ठानको सामान खरिदमा भ्रष्टाचार गरेको आरोप लगाउँदै प्रतिष्ठानका तत्कालीन उपकुलपति बलभद्रप्रसाद दास, व्यापारी चेतन अग्रवालसहित ८ जना विरुद्ध विशेष अदालतमा १६ करोडभन्दा बढी भ्रष्टाचार गरेको मुद्दा दायर गरेको थियो ।
उक्त मुद्दामा अग्रवाललाई एक करोड चार लाख १६ हजार रुपैयाँ बिगो माग्दै मुद्दा दायर गरिएको थियो । प्रेसिसन मेडिकल प्रा.लि.का नेपाल प्रतिनिधिसमेत रहेका उनै अग्रवालबाट हालका उपकुलपति गिरीले कोभिड अस्पतालका लागि बिना टेण्डर, बिना प्रतिस्पर्धा डेढ करोडको मेडिकल सामग्री खरिद गरेका छन् ।
यही खरिदका क्रममा गैरकानूनी भएको भन्दै विरोध जनाएका खरिद शाखाका प्रमुख चापागाईंलाई सरुवा गरिएको प्रतिष्ठान स्रोत बताउँछ । गैरकानूनी खरिदका विषयमा आएको दबाव झेल्न नसकेर कोभिड अस्पतालकी प्रमुख डा.कृष्ण पोखरेलले राजीनामा दिएकी थिइन् । यस विषयमा उपकुलपतिका स्वकीय सचिव भट्टराई भने प्रतिष्ठानले आवश्यक सामग्री जोसँग पनि किन्न पाउने बताउँछन् ।