विजयपुर (ब्लाष्ट) धरान–१५ दशरथपथ बस्ने १२ वर्षीय शंकल्प लिम्बू र धरान–८ बरगाछी बस्ने ११ वर्षीय सुन्दर तामाङ माघ २६ गतेदेखि बेपत्ता भएका छन् ।
शंकल्पका बाबु जितबहादुरले बरगाछी चोकको शहीद स्कुलमा सोमबार कक्षा ५ को परीक्षा दिएपछि घरमा नआई स्कुलड्रेसमै आफ्नो छोरा वेपत्ता भएको बताए । उनकाअनुसार सोही विद्यालयमा कक्षा ५ मै पढ्ने साथी सुन्दर तामाङ पनि एकसाथ वेपत्ता भएका हुन् ।
लिम्बुले सहिद स्मृति स्कुलको पोसाकमा हराएका छन् भने तामाङ जिनको हाफ पाइन्ट र रातो रङको टि–सर्ट लगाएको अवस्थामा हराएको धरानस्थित इलाका प्रहरी कार्यालयमा ‘वेपत्ता छोरा खोजीपाउँ’ भनि दिएको निवेदनमा उल्लेख छ ।
घरबाट बेपत्ता हुनु भन्दा अगाडि तामाङ घरमा पुगेर स्कुलड्रेस परिवर्तन गरी कक्षा ५ मै पढ्ने अर्का एकजना साथीकोमा गएर थोत्रे साइकल मागेर कवाडीलाई बेचेका थिए । कवाडीले सयरुपैया दिएपछि उनीहरु बरगाछी चोकबाट इटहरी, बिराटनगर वा पुर्व जाने रातो रङको सार्वजनिक बसमा चढेर गएको जानकारी मात्र प्राप्त भएको जितवहादुरले बताए । घर निर्माणमा मिस्त्री गरेर जिविका चलाउदै आएका लिम्बुले भने, ‘यसअघि घरबाहिर निस्कने, दुइ तीनदिन सम्म हराउने गरेको थिएन । गाली र कुटपिट पनि गरिएको थिएन । छोरो हराएपछि चिन्ता थपियो ।’
साइकल वेच्न दिने राई जातिका बालकले भनेअनुसार उनीहरु इटहरी जाने भनेर बसमा चढेका थिए । लिम्बुले कतै देख्नु हुने महानुभावले नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनु अपिल गरेका छन् ।