विराटनगर । खाना पकाउने ग्यास र इन्धनको मूल्यवृद्धिको विरोधमा विराटनगरस्थित मुख्यमन्त्री कार्यालयको गेट अगाडी  उपभोक्ताहरूले प्रदर्शन गरेका छन् । 

सरकारले खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा पब्लिक फोरमले मंगलबार प्रदेश १ को मुख्यमन्त्री कार्यालय अगाडि खाली सिलिन्डर राखेर प्रदर्शन गरेका हुन् । 

यही जेठ ८ गतेदेखि निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको थियो ।  खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २ सय रुपैयाँ बढाएको छ । बढेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यासको भाउ प्रतिसिलिन्डर १८ सय पुगेको छ । 

संघीय सरकारले मनलाग्दी मूल्यवृद्धि गरेर उपभोक्तालाई मारमा पार्दा समेत प्रदेश सरकार चुपचाप बसेकाले विरोध गरेको पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङ्गेलले बताए । उनले बढाइएको मूल्य तत्काल फिर्ता गर्न माग गरे ।