झापा । मदन भण्डारी राजमार्गको सुनसरी, मोरङ, झापा, इलाम र मोरङ  खण्डमा वन क्षेत्रभित्रका १३ हजार ८ सय ३४ रुख कटानको प्रक्रिया अघि बढेको छ । 

मन्त्रिपरिषद्ले सुनसरीको धरानदेखि झापाको बाहुनडाँगीसम्म ७७ किलोमिटर राजमार्गभित्र अवस्थित विभिन्न वनक्षेत्रको भोगाधिकार दिने निर्णय गरिसकेको हुँदा सम्बन्धित जिल्लाका डिभिजन वन कार्यालयबाट अनुमति लिएर रुख कटानको कार्य भइरहेको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका सूचना अधिकारी सुभाषकुमार दत्तले जानकारी दिए । 

कार्यालयले राजमार्गको झापाको पश्चिम खण्डमा पर्ने मावा खोलादेखि दमकको बेलडाँगीसम्मका ४७ रुख कटान गरिसकेको र मावा खोलादेखि मोरङको केराबारीसम्मका दुई हजार १ सय ६३ रुख कटान कार्य जारी रहेको दत्तले जानकारी दिए । ‘मन्त्रिपरिषद्को बैठकले राजमार्गको पूर्वी खण्डको वन क्षेत्रको भोगाधिकार दिने निर्णय गरिसकेको छ’ उनले भने, ‘भोगाधिकार प्राप्त भइसकेपछि वन कार्यालयसँग रुख कटानको स्वीकृति लिएका छौँ, अब धमाधम रुख कटान कार्य अघि बढिरहेको छ ।’

झापा र इलामको सीमावर्ती क्षेत्र हुँदै सुखानीदेखि बाहुनडाँगीको पाटापुरसम्मको ३१ किलोमिटर र सुनसरी–मोरङ क्षेत्रको ४६ किलोमिटर राजमार्ग क्षेत्रमा सडक स्तरोन्नतिको कार्यमा वन क्षेत्रका रुख अवरोध बनिरहेका थिए, अब रुख कटान भइसकेपछि राजमार्गको निर्माण तीव्र गतिमा हुने भएको छ । राजमार्गको पूर्वी खण्डअन्तर्गत झापा र इलाममा छ हजार १ सय ७१, सुनसरीमा पाँच हजार ५ सय र मोरङमा दुई हजार १ सय ६३ रुख कटान हुने भएका छन् । मोरङको वन क्षेत्रभित्रका रुख आगामी वैशाखभित्र कटान गरिसक्ने गरी काम भइरहेको कार्यालयका सूचना अधिकारी दत्तले बताए । सडक स्तरोन्नतिका लागि रुख कटान गर्न मन्त्रिपरिषद्को गत मङ्सिरमा भएको बैठकले नै भोगाधिकार स्वीकृति दिएको थियो ।

धरानदेखि मधुमल्लासम्मको सडकमा पर्ने वन क्षेत्रका सात हजार ६ सय १० रुख हाल कटान भइरहेका र केराबारीदेखि मावा खोलासम्मको सडक–खण्ड अन्तर्गतका दुई हजार १ सय ६३ रुख कटानको आदेश कार्यान्वयनको प्रक्रियामा रहेको थियो । सुनसरीमा पाँच हजार ५ सय रुखमा छपान तथा टाँचा लगाउने कार्य सम्पन्न भइसकेको र कटान आदेश कार्यान्वयनको प्रक्रियामा चलिरहेको जनाइएको छ ।

यसैगरी राजमार्गको गरुवा सुखानी सहादतस्थल–बरफलाङ्गफेदी तीन दशमलव ९२६ अन्तर्गत दुई दशमलव २१ हेक्टरमा पर्ने ४८३, शान्तिनगर–पाटापुर १३ दशमलव ८७४ किलोमिटरअन्तर्गतको सात दशमलव ७६ हेक्टरमा पर्ने तीन हजार ५० रुख हटाउनका लागि नेपाल सरकार मन्त्रिपरिषद्को चैत ११ गतेको बैठकबाट जग्गा भोगाधिकारको निर्णय भएको छ । 

पूर्वको झापादेखि पश्चिमको डडेलधुरा जिल्ला जोड्ने यो राजमार्ग चुरे महाभारत क्षेत्रमा निर्माणाधीन छ । यसको कुल लम्बाइ एक हजार २ सय किलोमिटर रहेको छ । धरानदेखि हेटौँडासम्मको ३ सय किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ भने पूर्वी खण्डमा धमाधम कार्य भइरहेको जनाइएको छ ।