विजयपुर । सरकारले आर्थिक वर्ष २०७८/८० को नीति तथा कार्यक्रममा आन्तरिक उत्पादन र उपभोगलाई प्राथमिकता दिएको छ ।
मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपाली उत्पादन तथा उपभोग अभिवृद्धिका लागि एक दशकसम्मको कार्यक्रम घोषणा गरेकी छन् । प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने र उक्त कार्यक्रमअन्तर्गत कर तथा भन्सार महसुल छुट र निर्यात अनुदानमार्फत् प्रवद्र्धन गरिने भएको छ ।
‘नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक’ नारासहित स्वदेशी उत्पादन र उपभोगको कार्यक्रम घोषणा गर्ने भएको हो । अर्थतन्त्रलाई समुन्नत बनाउन ‘नेपाली उद्योग, नेपालमै रोजगार, आफ्नो उत्पादन, आफै रोजगार’ भन्ने नाराका साथ अभियान सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । निर्यातयोग्य वस्तुको उत्पादनमा सुलभ दरमा विद्युत् आपूर्ति गर्ने भएको हो ।
राष्ट्रपति भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा जथाभावी घरजग्गा प्लटिङ रोक्ने उल्लेख गरिएको छ । भौगोलिक सूचना प्रणालीमा आधारित एकीकृत जग्गा मूल्याङ्कन प्रणाली विकास गरी वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण गरिने उल्लेख छ । सरकारले आधारभूत र जीवनरक्षक औषधि, खोप र अक्सिजन उत्पादनलाई थप प्रोत्साहन गर्ने र नेपाली औषधिजन्य उत्पादनको क्षमता वृद्धि गरी औषधिको आपूर्तिमा सुधार गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
पूर्व–पश्चिम राजमार्गलाई आगामी ५ वर्षभित्र चार लेनको बनाउने नीति लिएको छ । कोसी र कर्णाली करिडोर निर्माणलाई निरन्तरता दिने जनाएको छ । सवारी चालक अनुमति–पत्र सम्बन्धित प्रदेशबाटै वितरण गर्ने नीति लिएको छ । सरकारले आगामी आर्थिक वर्ष थप २५ हजार घरमा विद्युत् सेवा विस्तार गर्ने लक्ष्य राखेको छ । सरकारले सामाजिक सञ्जाललाई कानून तथा करको दायरामा ल्याउने भएको छ ।
नीति तथा कार्यक्रममा विद्यालयमा गणित, अङ्ग्रेजी, विज्ञानलगायत प्राविधिक धारका विषयको शिक्षक अभाव हुन नदिने जनाएको छ । सरकारले संसद्मा विचाराधीन नागरिकता विधेयकलाई सहमतिकै आधारमा छिट्टै टुङ्गोमा पु¥याउने जनाएको छ । प्रत्येक प्रदेशमा आवासीय विद्यालय स्थापना गर्ने, प्राविधिक धारका शिक्षालयको नक्साङ्कनसहित प्रत्येक स्थानीय तहमा पु¥याउने घोषणा गरेको छ ।
१ नं. प्रदेशको चन्द्रगढी र विराटनगर विमानस्थलमा सुविधाजनक टर्मिनल निर्माण कार्य गर्ने घोषण गरेको छ । विराटनगर सुख्खा बन्दरगाहसम्म कार्गो रेल सञ्चालन गर्ने घोषणा गरेको छ । सप्तरीको गोविन्दपुर–छिन्नमस्ता हुँदै उदयपुरको गाईघाटसम्मको सडक निर्माण कार्यलाई प्राथमिकता दिने घोषणा गरेको छ । पूर्व–पश्चिम विद्युतीय रेलमार्ग आयोजना विकासको पूर्वतयारी गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । साथै तल्लो अरुण परियोजना निर्माण कार्य सुरु गरिने जनाइएको छ ।