विराटनगर । उपभोक्ताको ढाड सेक्ने गरी अधिक मुनाफा राखी शौचालयमा प्रयोग हुने ‘कमोड’ बिक्री वितरण गरेको पाइएपछि विराटनगर–२ स्थित सिटी मार्बल्स फर्मलाई दुई लाख रुपैयाँ जरिबाना गराएको छ ।
सिटी मार्बल्सले ४३ प्रतिशतसम्म मुनाफा लिएर उपभोक्तालाई कमोड बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, विराटनगरले २ लाख जरिबाना गराएको हो ।
१८ हजार ५ सय ३५ रुपैयाँमा खरिद गरेको कमोड सिटी मार्बल्सले उपभोक्तालाई २६ हजार ५ सयमा बिक्री वितरण गरेको अनुगमनको क्रममा भेटिएपछि उपभोक्ता संरक्षण ऐनअनुसार सिटी मार्बल्सलाई कारबाहीको दायरामा ल्याएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।
सिटीले उर्लाबारीकी ताराकुमारी बस्नेतलाई एकथान कमोड (शौचासन) बिक्री गर्दा ४३ प्रतिशत मुनाफा लिइएको भेटिएको हो । विराटनगरमा सस्तो मूल्यमा सामान पाइएला भनेर आएकी बस्नेतले एउटा कमोडलाई २६ हजार ५ सय भुक्तानी गरेकी थिइन् । सिटी मार्बल्सले २०७८ फागुन २६ गते १८ हजार ५ सय ३५ रुपैयाँ मूल्यमा सामान खरिद गरेको थियो ।
कम मूल्यमा खरिद गरेर स्टकमा रहेको सामान बढी मूल्यमा बिक्री गरेको पाइएको हो । ‘ज्याकवार ब्राण्डको कमोडको अधिकतम् बिक्री मूल्य कम्पनीले मूल्य २३ हजार ८ सय ६० रुपैयाँसम्म तोकेको रहेछ ।
तर, सिटी मार्बल्सले अधिक मुनाफा राखी कमोड बिक्री गरेको भेटिएपछि कारबाहीको दायरामा ल्याएको हो’ कार्यालय प्रमुख पोखरेलले भने, ‘गलत व्यापारिक क्रियाकलापले उपभोक्तासँग बढी लिएको ५ हजार ३ सय ५० रुपैयाँ फर्मबाट फिर्ता दिलाएका छौं ।’
सामान खरिद गरेको मितिको मूल्यमा अधिकतम् २० प्रतिशतमात्रै नाफा लिन पाइन्छ । तर, सिटी मार्बल्सले स्टकमा रहेको सामानलाई नयाँ मूल्य सूचीका आधारमा बिक्री गरेर बढी मुनाफा आर्जन गरिएको हो ।
वाणिज्य कार्यालयले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा १ सय ७ वटा फर्मको अनुगमन गरेको छ । जसमध्ये २८ वटा फर्म जरिबानामा परिसकेका छन् । जरिबाना भराएका २८ फर्मबाट चालु आर्थिक वर्षमा १२ लाख ५७ हजार रुपैयाँ असुल गरिएको पोखरेलले जानकारी दिए ।