धरान । वराह बचत तथा ऋण सहकारी संस्थाबाट पीडित भएका बचतकर्ताहरूले समस्या समाधानका लागि धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईको ध्यानाकर्षण गराएका छन् ।
सहकारीमा जम्मा गरेको रकम फिर्ता नपाएपछि सङ्घर्ष समिति गठन गरेर आन्दोलन गरिरहेका उनीहरूले शनिबार मेयर राईलाई ज्ञापन–पत्र बुझाएर पैसा फिर्ता गराउनका लागि पहल गर्न आग्रह गरे । सङ्घर्ष समितिले वराह सहकारीका सञ्चालकहरूलाई नेपाल बाहिर जान रोक लगाउनको लागि आवश्यक कदम चाल्न पनि अनुरोध गरेका छन् ।
मेयर राईले आफ्नो अधिकार क्षेत्र र कानूनबमोजिम पहल गर्ने बताएका छन् । उनले आफू पीडितहरूको साथमा रहेको बताउँदै स्थानीय सरकारको तर्फबाट सहयोग गर्ने बताए ।
सङ्घर्ष समितिले वराह सहकारीका सञ्चालकहरूलाई जेठ १८ गतेसम्मको अल्टिमेटम दिएका छन् । उनीहरूले आफूहरूले बचत गरेको रकम फिर्ता नभए वराहको भानुचोकस्थित कम्प्लेक्स, धनकुटे रोडस्थित वराह भवन र भेडेटारको व्यापारिक भवन बन्द गराउने उनले चेतावनी दिएका छन् ।