विजयपुर । आर्थिक वर्ष २०७९/८० को बजेटमा प्रदेश १ का अधिकांश आयोजनाका लागि समग्रमा बजेट विनियोजन भएको पाइएको छ ।
प्रदेश १ मा सञ्चालित राष्ट्रिय गौरवका आयोजनामा बजेट स्पष्ट किटान भए पनि अन्य आयोजनामा समग्रमा बजेट विनियोजन भएको छ । जसले गर्दा त्यस्ता आयोजनाहरू समेटिए पनि कार्यान्वयन हुनेमा आशङ्का जन्मिएको छ ।
१ नं. प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले बजेट प्रस्तुत हुनुअगावै सामाजिक सञ्जालमा ‘तमोर कोरिडोर सडक आयोजना कार्यालय धरानमा स्थापना, चतरा–मूलघाट–माझीटार–अमरपुर डाँडासम्मको १ सय १० किलोमिटर सडक कालोपत्रे र स्तरोन्नतिको लागि अर्थ मन्त्रालयबाट ५ अर्ब ७६ करोड ८७ लाख बजेट स्रोत सुनिश्चिततासँगै धनकुटा–पाँचथर खण्डमा कालोपत्रे बन्नेछ ।
तेह्रथुम–धनकुटा–पाँचथर–ताप्लेजुङको निम्ति आर्थिक मेरुदण्डको रूपमा यो आयोजना कोसेढुङ्गा साबित हुनेछ’ लेखेका थिए । तर, उक्त आयोजनामा उनले सामाजिक सञ्जालमा लेखेजति बजेट परेको पाइएन । सरकारले प्रस्तुत गरेको बजेट भाषणमा तमोर करिडोर चतरा–मूलघाट–माझीटार–दोभान–ओलाङ्चुङगोला–तिप्तलाका, मेची कोरिडोरको केचना–कञ्चनजङ्घा सडक–खण्डको स्तरोन्नति र दोधारा–चाँदनी जोड्ने महाकाली नदीमा चार लेनको मोटरेबल पुल निर्माण कार्यका लागि जम्मा ४१ करोड रुयैयाँ विनियोजन गरेको छ ।
त्यस्तै मध्यपहाडी क्षेत्रका २६ जिल्लालाई सडक सञ्जालमा जोड्ने निर्माणाधीन पुष्पलाल मध्य पहाडी राजमार्गको ३ सय किलोमिटर कालोपत्रे र १६ वटा पुल निर्माणका लागि ६ अर्ब ७ करोड विनियोजन गरिएको छ । निर्माणाधीन हुलाकी राजमार्गको ३ सय किलोमिटर कालोपत्रे र २४ वटा पुल निर्माण र थप ६७ वटा पुल निर्माण कार्य प्रारम्भ गर्न ६ अर्ब ७ करोड बजेट विनियोजन गरिएको छ ।
झापाको बाहुनडाँगीदेखि डडेलधुरा रूपालसम्मको भित्री मधेश क्षेत्रमा अवस्थित ठूला उपत्यका जोड्ने निर्माणाधीन मदन भण्डारी राजमार्गको गुल्मी जोड्ने र मदन भण्डारी राजमार्गका लागि २ अर्ब ९१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । प्रमुख व्यापारिक नाकाहरूलाई पूर्व–पश्चिम राजमार्गसँग जोड्ने रानी–विराटनगर–धरान, वीरगञ्ज–पथलैया–वेलहिया–बुटबल र मोहना पुल–अत्तरिया सडकको निर्माण तथा स्तरोन्नति गरिने बजेटमा उल्लेख गरिएको छ ।
क्षेत्रीय व्यापारिक मार्ग विस्तार आयोजनाका लागि ६ अर्ब ८४ विनियोजन गरेको छ । पूर्व–पश्चिम राजमार्गबाट झापा, सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, बारा, पश्चिम नवलपरासी, कपिलवस्तु र बर्दिया जिल्लाका सदरमुकाम जोड्ने सडकको निर्माण कार्य सुरु गरिने भएको छ ।
विराटनगर–धरान ट्राम यातायातको सम्भाव्यता अध्ययन गरिने बजेटमा उल्लेख गरिएको छ । विजलापुर–बर्दीवास र विराटनगर खण्डमा जग्गा प्राप्तिको लागि स्रोतको व्यवस्थान गरिएको छ । जल यातायात सेवालाई प्रवद्र्धन गर्न कोसीको चतरामा फेरि टर्मिनल निर्माण कार्य प्रारम्भ गरिने बजेटमा उल्लेख गरिएको छ ।
माथिल्लो अरुण जलविद्युत् आयोजना कार्यान्वयनका लागि १ अर्ब र दूधकोसी जलविद्युत् आयोजनाका लागि ९४ करोड रुयैयाँ बजेट विनियोजन गरिएको छ । अरुण कोरिडोर प्रसारण लाइनको सार्वजनिक निजी साझेदारी वित्तीय स्रोत सुनिश्चित गरी निर्माण कार्य अघि बढाउने उल्लेख गरिएको छ । पूर्व–पश्चिम ७ सय ३५ केभी क्षमताको प्रसारण लाइन निर्माणको सम्भाव्यता अध्ययन गरिनेछ । झापामा भूमिगत लज सिँचाइ आयोजनाबाट ७ हजार हेक्टरमा वर्षभरि सुविधा उपलब्ध गराउन आयोजना कार्यान्वयन सुरु गरिने जनाइएको छ ।
सुनसरी–मोरङ चन्द्र नहर कोसी पम्प तथा वितरण प्रणाली मर्मत सम्भार गरिने भएको छ । कर्णालीदेखि कोसीसम्मका प्रमुख नदीहरूलाई एक–आपसमा जोड्न बहुउद्देश्यीय पूर्व–पश्चिम सिञ्चाइ प्रणालीको सम्भाव्यता अध्ययन गरिने भएको छ । सूचना तथा सञ्चारमा उदयपुरमा मौसमी राडार केन्द्रहरूको निर्माण कार्य सम्पन्न गरिनेछ ।
सूचना तथा सञ्चारमा धरानमा डाटा सेन्टरको सम्भाव्यता अध्ययन गरिने भएको छ । आवास तथा सहरी विकास ओलाङ्चुङगोला किमाथाङ्का व्यवस्थित हिमाली सहर विकास गर्न सम्भाव्यता अध्ययन गरिनेछ । विराटनगरको केसलिया सिङ्घियालाई सहरी नदी कोरिडोरको अवधारणा अनुरूप तटबन्ध निर्माण र बस्ती संरक्षण कार्यक्रम सञ्चालन गर्ने बजेटमा उल्लेख छ ।
जलवायु परिवर्तनका कारण उत्पन्न हिमताल विष्फोटको कारण जोखिम न्यूनीकरण गर्न सङ्खुवासभाको १ र सोलुखुम्बुका २ वटा हिमतालमा रहेको पानीको सतह घटाउने र तल्लो तटीय क्षेत्रमा पूर्व सूचना प्रणालीको निर्माण गरी सञ्चालन गरिने उल्लेख छ । विराटनगर जुट मिल उपयुक्त ढाँचामा सञ्चालन गरिने पनि बजेटमा उल्लेख गरिएको छ ।
शान्ति सुरक्षातिर मोरङको कारागारको भवनको मर्मत गरी सुधार गरिने भएको छ । दमक मोती, दैजी, नौवास्ता औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण गरिने भएको छ । सुनसरीमा आर्थिक क्षेत्रको निर्माण कार्य प्रारम्भ गरिनेछ । भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन निर्माण कार्य प्रारम्भ गरिने भएको छ ।
सगरमाथा क्षेत्रको हालको मार्गलाई सुधार गर्ने र चतरा–सगरमाथा दु्रत मार्ग निर्माण गरी २ घण्टामा सगरमाथा क्षेत्रमा पुगी सगरमाथा अवलोकन गर्न सक्ने गरी पूर्वाधार निर्माण गरिनेछ । तर, बजेटको भने सुनिश्चितता देखिँदैन । उदयपुरमा विमानस्थल निर्माण कार्य सुरुवात गरिने भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत काँकडभिट्टा–लौकही सडक–खण्ड विस्तार गरिनेछ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।