विराटनगर । राजस्व छली गर्न पल्किएका व्यापारीले भरिया लगाएर खाद्यान्न सामग्रीको तस्करी गर्ने गरेको पाइएको छ । उनीहरूले सीमावर्ती बजार जोगवनीबाट दर्जनौं भरियालाई निश्चित रकम दिएर समान ओसार–पसार गर्न लगाउँछन् । त्यसरी सामान ओसार्ने कार्यलाई ‘क्यारिङ’ भन्ने गरिन्छ ।

यसरी प्रहरीको आँखा छली गर्दै क्यारिङमार्फत् व्यापारीको गोदाममा खाद्यवस्तु भण्डारण गरी बजार पठाउन लागेको ठूलो परिमाणको भन्सार छली गरिराखिएको २ सय ५ बोरा खाद्यान्न मोरङ प्रहरीले मङ्गलबार दिउँसो छापा हानेर बरामद गरेको छ । मोरङ प्रहरीका निमित्त कार्यालय प्रमुख डिएसपी दीपक श्रेष्ठले विराटनगर–११ केसलिया रोडमा श्यामसुन्दर रौनियारले सञ्चालन गरेको खाद्यान्नको गोदामबाट १ सय ९७ बोरा मासको दाल, ४ बोरा पहेँलो तोरी र ४ बोरा केराउ राजस्व छली गरेको पाइएपछि बरामद गरिएको जानकारी दिए ।

बरामद गरिएको खाद्यवस्तु ६ लाख ७१ हजार मूल्य बराबरको रहेको उनले बताए । ‘बरामद गरिएको खाद्यवस्तुको कुनै बिलबिजक भेटिएको छैन । खाद्यवस्तु भन्सार छली गरी ल्याएको प्रारम्भिक चरणको अनुसन्धानबाट देखिएको छ’ डिएसपी श्रेष्ठले भने, ‘थप अनुसन्धान र कारबाही प्रक्रियाको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पढाएका छौं ।’ राजस्वले थप अनुसन्धान गरी कारबाही गर्ने उनले बताए ।

बरामद गरेको खाद्यवस्तु शिवम् गणपति टे«डिङको हो । यसअघि १९ वैशाखमा पनि प्रहरीले विराटनगर–९ गुद्रीमा खाद्यान्नको थोक पसल सञ्चालन गर्ने अनिल साहले क्याररिङमार्फत् तस्करी गरी ल्याएको केराउ बरामद गरेको थियो ।

साहले एक दर्जन बढी भरिया प्रयोग गरी भारतबाट अवैध रूपमा केराउ ल्याउने गरेका थिए । तस्करी गरी ल्याएको केराउ उनले गुद्रीमा भण्डारण गरी राख्ने गरेका थिए । तस्करीको केराउ अन्यत्र पठाउने गरेको प्रहरीले पत्तो पाएपछि ना ३ ख ७८१२ नम्बरको ट्रकमा लोड गरेको ४ हजार २ सय केजी केराउ मोरङ प्रहरीबाट खटिएको विशेष प्रहरी टोलीले बरामद गरेको थियो । प्रहरीले बरामद गरेको उक्त केराउ ४ लाख मूल्य बराबरको थियो ।

सेटिङमा तस्करी
भन्सार छलेर अवैध रूपमा खाद्यान्न ल्याउन व्यापारीले भरियाको समूहलाई जिम्मा दिने गर्दछन् । खाद्यान्न सामग्री प्रतिकेजी र लत्ताकपडा प्रतिगोटाको हिसाबले भरियालाई व्यापारीले पैसा दिने गरेका छन् । उनीहरूबीच सामान ल्याएबापतको निश्चित मूल्य नै निर्धारण गरिएको हुन्छ ।

जोगवनीदेखि विराटनगरसम्म ल्याएको खाद्यवस्तुको मूल्य हेरेर ७ देखि २० रुपैयाँसम्म प्रतिकेजी लिने गरेको यस क्षेत्रका जानकारले बताएका छन् । यस्तै लत्ताकपडामा सर्ट प्रतिगोटा २० देखि २५ रूपैयाँ, पाइन्ट ४० देखि ५० रुपैयाँ, कुर्ता सुरुवाल प्रतिगोटा १५ रुपैयाँ, जम्पर २५ देखि ३० रुपैयाँ र सेन्डो भेस्टको ५ देखि १० रूपैयाँ लिने गरेको जानकारहरू बताउँछन् । उनीहरूले कायम गरेको दररेट पाएपछि व्यापारीले भनेको गन्तव्यसम्म पुर्याउने जिम्मा लिने गर्दछन् ।

कपडाका व्यापारीले भारतीय बजार गएर खाद्यान्न र लत्ताकपडा खरिद गरेपछि भन्सारमा राजस्व नतिर्न क्यारिङ गर्नेलाई रोज्ने गरेका हुन् ।

व्यापारीले क्यारिङ गर्नेलाई खाद्यान्न र लत्ताकपडा जिम्मा लगाएपछि बाटोमा प्रहरीले समाते उक्त सामानको मूल्य क्यारिङ गर्नेले तिर्नुपर्ने सर्त राखेका हुन्छन् । तर, ठूला व्यापारीको क्यारिङ गर्ने तस्करले प्रशासनसँग राम्रो सेटिङ मिलाएको हुनाले पक्राउ पर्ने सम्भावना निकै कम हुने गरेको स्रोतको भनाइ छ ।