विजयपुर । धरान उपमहानगर क्षेत्रमा सञ्चालित पेय पदार्थका २ डिलरमा अनुगमन गरिएको छ । अनुगमनपश्चात् पेय पदार्थको गुणस्तर परीक्षणका लागि नमुना सङ्कलन गरी ल्यावमा पठाइएको छ ।

मङ्गलबार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवाका प्राविधिकसहितको समूह र धरान उपमहानगरले संयुक्त रूपमा अनुगमन गरेको हो । अनुगमनबाट विभिन्न वस्तुहरू गुणस्तर परीक्षणका लागि ल्यावमा पठाइएको धरान उपमहानगरका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार धरान–१२ स्थित सगुन ट्रेडर्स र धरान–८ को बाबा इन्टरनेसनल डिलरमा अनुगमन गरिएको हो ।

अनुगमनबाट विभिन्न पेय पदार्थको गुणस्तर परीक्षणका लागि प्रयोगशाला पठाइएको छ । धरान–१२ छाताचोकको सगुन ट्रेडर्सबाट २.५ लिटरको पेप्सी ६ थान, १.५ लिटरको २ वटा पेप्सी, सिसाको बोतलको २ सय ५० मिलिलिटरको पेप्सी ४, स्प्राइट २ सय ५० मिलिलिटिर ४ थान, पेप्सी २ सय ५० मिलिलिटरको ब्याच नम्बर फरक–फरक भएका ८ थान नमुना पठाएको अनुगमन अधिकृत सापकोटाले बताए । साथै इनर्जी ड्रिङ्क्स २ थान पठाइएको छ ।

यस्तै धरान–८ को बाबा इन्टरनेसनल प्रा.लि.बाट स्प्राइट ४ थान, कोकाकोला ४ थान, फेण्टा ४ थान नमुना परीक्षणका लागि लगिएको छ । यी वस्तुहरूको नमुना परीक्षण गर्दा अस्वस्थकर र गुणस्तरहीन भएमा खाद्य ऐन अन्तर्गत मुद्दा दायर गर्ने अनुगमन अधिकृत सापकोटाले बताए  । उनका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले मुद्दाको प्रक्रिया अगाडि बढाउनेछ ।

खाद्य ऐन २०२३ को दफा ३ मा दूषित खाद्य पदार्थ वा न्यूनस्तरको खाद्य पदार्थको उत्पादन तथा बिक्री वितरण गर्न नपाउने व्यवस्था छ । उक्त दफामा कुनै व्यक्तिले दूषित खाद्य पदार्थ वा न्यूनस्तरको खाद्य पदार्थको उत्पादन, बिक्री वितरण, निकासी वा पैठारी गर्न वा सोमध्ये कुनै कामका लागि त्यस्तो खाद्य पदार्थ राख्न नपाइने व्यवस्था रहेको छ ।

सोही ऐनको दफा ५ मा दण्ड सजायसम्बन्धी व्यवस्था छ । दफा ५ को उपदफा (१) मा दफा ३ विपरीतको कार्य गर्ने व्यक्तिलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ । दफा ५ को उपदफा (२) मा उपदफा (१) मा लेखिएको बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा आदेशको अन्य कुनै कुरा उल्लङ्घन गर्ने व्यक्तिलाई १० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ । साथै उपदफा (३) मा कसैले यस ऐन बमोजिमको कुनै कसुर गरी कसैलाई हानि, नोक्सानी पु¥याएमा त्यस्तो कसुरदारबाट सम्बन्धित पीडितलाई मनासिब क्षतिपूर्तिसमेत दिनु पर्ने उल्लेख छ ।

धरानमा चिसो पेय पदार्थ पेप्सी र स्प्राइटमा विभिन्न अखाद्य वस्तु भेटिएको समाचार ब्लाष्ट दैनिकले प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएपछि बजार अनुगमन गरिएको हो । बजार अनुगमन अधिकृत सापकोटाका अनुसार खाद्य प्रविधि तथा  गुण नियन्त्रण कार्यालयका प्रमुख काशीनाथ घिमिरे, खाद्य निरीक्षक सिर्जन जोशी र बादल चेम्जोङसहित नगर प्रहरीको टोलीले अनुगमन गरेको हो ।

anugaman-coke-4

anugaman-coke2

anugaman-coke1