सुनसरी । खुला सीमाको फाइदा उठाउँदै भारतीय पेय पदार्थको तस्करी हुने गरेको पाइएको छ ।
घरायसी वा अन्य प्रयोजनको नाममा कोकाकोला, फेन्टा, ड्यु, स्प्राइटजस्ता पेय पदार्थहरूको तस्करी बढेको पाइएको हो । सोही क्रममा सुनसरी भन्सार कार्यालयले मङ्गलबार भारतमा निर्मित कोकाकोला चोरीपैठारी गरी नेपाल भित्र्याइएको एक लाख बराबरको पेय पदार्थसहित एउटा पिकअप गाडी नियन्त्रणमा लिएको छ ।
को.१ ख १७९३ नम्बरको पिकअपमा लोड गर्दै गरेको अवस्थामा भोक्राहा नरसिंह गाउँपालिका–६ स्थित इसराइल कामत भन्ने स्थानबाट पेय पदार्थ नियन्त्रणमा लिएको सुनसरी भन्सार कार्यालयले जनाएको छ ।
लौकही नाका हुँदै अवैध रूपमा चोरी पैठारी भैरहेको भन्ने सूचनाका आधारमा गएको भन्सार गस्ती टोलीले नियन्त्रणमा लिएको कोकाकोलाको बजार मूल्य करिब १ लाख रहेको सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजका निमित्त प्रमुख भन्सार अधिकृत पर्शुराम दाहालले बताए ।
साधन र मालवस्तुसहित भन्सारमा मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइएको उनले बताए । यसअघि पनि सोही स्थान नजिकबाट भन्सार कार्यालयबाट खटिएको टोलीले २०७८ वैशाख २१ गते करिब ९ लाख मूल्यको कपडासहित को.२ च २७८० नम्बरको पिकअप नियन्त्रणमा लिएको थियो ।