धरान । नेपाल सरकारले आगामी आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धिदर गर्ने दाबी गरिरहेका बेला विश्व बैङ्कले त्यसको आधा मात्रै वृद्धिदर हुने प्रक्षेपण गरेको छ ।

बैङ्कले ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२२/०२३ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव १ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको हो । जनवरीमा गरिएको प्रक्षेपणमा भने ४ दशमलव ३ प्रतिशत आर्थिक वृद्धिदर हुने भनी प्रक्षेपण गरिएको थियो ।

तर, बैङ्कले शून्य दशमलव २ प्रतिशत विन्दुले संशोधन गर्दै नयाँ प्रक्षेपण सार्वजनिक गरेको हो । बैङ्कले आर्थिक वर्ष २०२३/२४ मा ५ दशमलव ८ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ । तर, यसअघि गरिएको प्रक्षेपणमा ६ दशमलव ४ प्रतिशत रहेको थियो । नेपालले चालु आर्थिक वर्षमा ५ दशमलव ८४ प्रतिशत प्रक्षेपण गरेको थियो ।

आगामी आर्थिक वर्ष २०७९/८० मा ८ प्रतिशत आर्थिक वृद्धिदर गर्ने लक्ष्य लिएको छ । कोरोना महामारीका कारण पनि सरकारले लक्ष्यअनुरूप आर्थिक वृद्धिदर गर्न नसक्ने दाबी गरिएको थियो । सरकारले हालै बजेट सार्वजनिक गरेको अवस्थामा बैङ्कले नयाँ प्रक्षेपण सार्वजनिक गरेको हो ।