विराटनगर । सरकारले ल्याएको नीति र आगामी आर्थिक वर्षको बजेटले तीन थरीका उद्योगलाई धराशायी बनाउन खोजको भन्दै पूर्वका व्यवसायीहरू आन्दोलित भएका छन् ।
सरकारले ल्याएको वर्षमा नेपालका तीन वटै किसिमका साना ठुला गरी २ सयभन्दा बढी उद्योग बन्द हुने जिकिर गर्दै नीतिगत सुधारको मागका राख्दै उद्योगी तथा व्यावसायिकहरूले बिहीबारदेखि आन्दोलन सुरु गरेका हुन् ।
आगामी आर्थिक वर्षको बजेटले तीन थरीका उद्योगलाई धराशायी बनाउन खोजेको आरोप लगाउँदै उद्योग सञ्चालक, कामदार र मजदुरहरू प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनको आयोजना मोरङ व्यापार संघ, सङ्गठन मोरङ, नेपाल उद्योग परिसङ्घ (सिएनआई) प्रदेश नम्बर १ तथा नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एस समर्थित चार ट्रेड युनियनले संयुक्त रूपमा गरेका थिए ।
बिहीबार मध्याह्न साढे ११ बजे बुढीगङ्गा गाउँपालिकामा पर्ने धरान–विराटनगर सडक खण्ड छेउको हुलास वायर इन्डस्ट्रिजबाट निस्किएको जुलुसलाई स्थानीय औद्योगिक क्षेत्रको परिक्रमा गराइएको थियो ।
औद्योगिक कच्चापदार्थ एमएस वायर रडको भन्सार महसुल ५ लाई १० प्रतिशत बनाइएको र प्रतिकिलो अन्तःशुल्क २ रुपैयाँ ५० पैसालाई वृद्धि गरेर ४ रुपैयाँ ५० पैसा बनाइएको हुँदा एमएसमा आधारित देशका सबै उद्योग बन्द हुने दाबी गरिएको छ । एमएसबाट उत्पादन गरिने मुख्य सामग्री जिआई वायर साफ्टा सुविधाअन्तर्गत ६ प्रतिशत भन्सार महसुलमा ल्याउन सकिने हुँदा नेपालका उद्योग सङ्कटमा पर्ने उनीहरूको भनाई छ ।
त्यस्तै बजेटले बिस्कुट तथा चाउचाउ उद्योगलाई पाम तथा पामोलिन तेलको पैठारी ५ प्रतिशत भन्सार महसुलमा गर्न सुविधा दिएको हुँदा यसबाट देशका तेल उद्योग सङ्कटमा पर्ने दाबी गरिएको छ । बजेटले तयारी स्यानिटेरी प्याडको पैठारी १ दशमलव ५ प्रतिशत भन्सार महसुलमा गर्न छुट दिएकाले देशका सबै स्यानिटेरी प्याड उद्योग बन्द हुने जिकिर गरिएको छ ।