भोजपुर । विद्युत् प्राधिकरणको लापरबाहीका कारण भोजपुरमा बिजुली छिनमै जाने छिनमै आउने समस्याले उपभोक्ता आजित छन् ।
बिजुली छिनमै जाने छिनमै आउने समस्याले विद्युतीय उपकरणमा क्षति पुगिरहेको भोजपुर सामुदायिक रेडियोकी समाचार सम्पादक शारदा तामाङ राईले बताइन् । उनले भनिन्, ‘रेडियोका ट्रान्समिटर, युुपिएस, मिक्सचर, कम्प्युुटर लगायतका सामान बिग्रिने समस्या बढ्यो ।’
समस्या समाधानका लागि सरोकारवाला निकाय र जिल्लाका राजनीतिक दलहरूले चासो नदिएको भोजपुुर नगरपालिका–१२ टक्सारका घमचन्द्र दाहाल बताउँछन् । यता नेपाल विद्युत् प्राधिकरण प्रदेश नम्बर १ प्रादेशिक कार्यालय भोजपुुर वितरण केन्द्रका प्रमुख पुुरुषोत्तम रेग्मीले समस्या समाधानका लागि काम भइरहेको बताए ।
प्रमुख रेग्मीका अनुुसार ३३ केभिए प्रशारणलाइन अबरुद्ध भएका कारण स्थानीय इष्टर्न हाइड्रोपावर र टक्सार पिखुला खोला हाइड्रोपावरबाट उत्पादित विद्युत् आपूर्ति कम भएकाले समस्या भएको छ । भोजपुर ५० दशमलव ३३ प्रतिशत जनता विद्युतको पहुँचमा पुगेका छन् ।
भोजपुरमा पहिलोपटक सदरमुकाममा सिक्तेल खोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रयोग गरिएको थियो । २०३८ सालदेखि भोजपुरमा विद्युत् पाउन थाले पनि सतप्रतिशत जनताको पहुँचमा पुग्न अझै धेरै समय लाग्ने प्राधिकरणको भनाइ छ । यसैबीच इस्टर्न र टक्सार पिखुवा खोला हाइड्रोपावरको दैनिक १३ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।