सुनसरी । धान रोप्ने बेलामा युरिया मल पाइएला भन्ने आशा गरेका कोसी गाउँपालिका–८ का किसान विष्णु खत्वे बजारमा मल नपाउँदा चिन्तित छन् ।
मलको लागि दिनहुुँ सहकारी संस्था धाउँदै आएका उनले ५ किलो पनि युरिया मल पाएका छैनन् । ‘यतिबेला युरिया छर्न पाइएन भने धान राम्ररी फल्दैन’ उनले भने, ‘जतिखेर मल चाहिएको हुन्छ, त्यतिबेला नै मल पाइँदैन ।’ खेतमा धान रोपेपछि र गाँज लाग्ने बेलामा किसानले मल छर्छन् । नेपाली बजारमा युरिया मल नपाउँदा भारतीय बजारबाट तस्करी गरी ल्याइएको मल आफूहरूले प्रयोग गर्दै आएको खत्वेको भनाइ छ । सहकारी संस्था र धेरै पसल चहार्दा पनि मल नपाइएको हुँदा अब भारतीय बजारबाट मल ल्याएर खेती गर्ने तयारी गरेको नाम उल्लेख नगर्ने शर्तमा एक किसानले बताए ।
‘आफ्नो देशमा मल नपाएपछि उता गएर भए पनि ल्याउनु प¥यो नि’–ती किसानले भने । अनुदानमा प्राप्त हुने रासायनिक मल युरिया नपाउँदा भारतीय बजारबाट तस्करी गरी ल्याउनेबाट दोब्बर मूल्यमा मल किनेर छर्नुपर्ने बाध्यता रहेको किसानहरूको गुनासो छ । ‘यसपटक पानीले साथ दियो तर, मल अभाव हुँदा धान उत्पादनमा कमी आउने सङ्केत देखिएको छ’ कोसी गाउँपालिका–३ का किसान जहुर मियाँले भने, ‘जहाँ गए पनि यो वर्ष मल पाइएन ।’
मल अभावका कारण समयमै धान रोपाइँ नगर्दा उत्पादन घट्ने हो कि भन्नेमा किसानहरू चिन्तित छन् । मागअनुसार मल आपूर्ति गर्न नसक्दा बजारमा मलको अभाव देखिएको सहकारी संस्थाका सञ्चालक बताउँछन् ।
स्वदेशमा नपाइने र भारतीय बजारबाट ल्याइने मल प्रहरीले नियन्त्रणमा लिई भन्सारमा बुझाइदिने गरेको किसानहरूको गुनासो छ । नेपालमा धानमा छर्ने युरिया, डिएपी, पोटास जस्ता मल नपाएपछि अहिले सीमा क्षेत्रका किसान मल चोरीपैठारीका लागि भारतीय बजार जाने गरेका छन् । उनीहरूले लुकाएरै मल ल्याउँछन् ।
त्यसरी लुकाएर ल्याउँदा सीमा क्षेत्रमा तैनाथ प्रहरीले मल नियन्त्रणमा लिँदै आएको छ । किसानले आवश्यक पर्ने बेलामा मल नपाउने समस्याका बारेमा सरकार जानकार भए पनि समस्या समाधानका निम्ति उदासिन रहेको नेकपा (एमाले) प्रदेश नम्बर १ सदस्य अजय कुशियैतले बताए ।
किसानहरूको समस्याका बारेमा आफूहरूले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आए पनि समयमै मलको व्यवस्थापन गर्न नसक्दा तस्करी र कालोबजारी मौलाएको उनको कथन छ । ‘समयमा बिउ र मल नपाउँदा किसानको अवस्था दयनीय छ’ कुसियैतले भने, ‘तर, सरकारले कुनै चासो लिएको पाइँदैन ।’ किसानले धानका लागि मल नपाएर समस्या भोग्दै आएको भन्दै सरकारको ध्यानाकर्षण गराउँदै आए पनि सरकार भने यसबारे मौन छ ।
तस्करीको मल भन्सारमा बुझाउँदै प्रहरी
जिल्लामा मल अभाव हुँदा भारतबाट मल तस्करी भइरहेको छ । भारतीय बजारबाट तस्करी गरी ल्याइने मल सीमावर्ती क्षेत्रका किसानहरूले प्रयोग गर्दै आएका छन् । नेपाली बजारमा पाउन छाडेपछि भारतीय बजारबाट रासायनिक मल तस्करी गरिएको किसानहरू बताउँछन् ।
कतिपयले त्यसरी तस्करी गरी ल्याएको भारतीय मल धान खेतमा छरिरहेका हुन्छन् भने कतिपय भने त्यसरी ल्याएको मल नेपाली बजारमा महँगो मूल्यमा बेचिरहेका छन् । भारतबाट तस्करी गरी ल्याउने मल सीमा क्षेत्रमा तैनाथ प्रहरीले नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाउने क्रम बढेको पाइएको छ । जेठ २७ गते जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित चिरौली चोकबाट सुनसरी प्रहरीले बा.७ च ७९८७ नम्बरको पिकअप गाडीसहित २३ बोरा युरिया नियन्त्रणमा लियो ।
यस्तै जेठ ३० गते सोमबार भारतीय बजारबाट ल्याइएको ६० बोरा मलसहित गाडी नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जनाएको छ । खेतीको सिजन भएको हुँदा यतिबेला किसानलाई मल आवश्यक पर्ने भएकोले आफूहरूले सोही अनुसार अरू कामभन्दा मलको लिलाम प्रक्रिया अगाडि बढाउने गरेको सुनसरी भन्सार कार्यालयले जनाएको छ ।
तर, भन्सारबाट वास्तविक किसानभन्दा व्यापारीहरूले मल लाने गरेका छन् । केही किसानले आफै भारतीय बजारबाट मल ल्याउने गरे पनि अधिकांशले तस्करी गरी ल्याएको मल किसानलाई महँगो मूल्यमा बेच्दै आएका छन् । खुला सीमाको फाइदा उठाएर किसानका नाममा दैनिक मल भिœयाउने गिरोह नै सक्रिय रहेको प्रहरी बताउँछ । किसानलाई भारतबाट मल ल्याउन छुट दिए पनि किसानका नाममा दैनिक अवैध रूपमा मल भिœयाउने गिरोहलाई नियन्त्रणमा लिएर भन्सार बुझाउने गरिएको सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाको भनाइ छ ।