विजयपुर । धरान नगरप्रमुख हर्कराज राईले जनप्रतिनिधिको राजीनामा मागेकोप्रति ६ राजनीतिक दलले आपत्ति जनाएका छन् ।
आइतबार ६ राजनीतिक दलको धरान नगरसमितिले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् । नेकपा (एमाले) का धरान अध्यक्ष हर्कजङ एभेङ, नेपाली काङ्ग्रेस नगरसभापति श्याम पोखरेल, नेकपा (माओवादी केन्द्र) का नगर इन्चार्ज फोक्वाहाङ सुब्बा (चोत्लुङ), जनता समाजवादी पार्टी, नेपालका धरान अध्यक्ष ताजुब लिम्बू, नेकपा (एकीकृत समाजवादी) धरान अध्यक्ष रेवतीरमण राई र राष्ट्रिय प्रजातन्त्र पार्टी धरानका कार्यवाहक अध्यक्ष दोर्जे शेर्पाले संयुक्त विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।
वडाध्यक्षसहित कार्यपालिका सदस्य र नगर प्रमुख राईबीच असोज १३ गतेको कार्यपालिका बैठकबाट विवादको सुरुवात भएको थियो । कार्यपालिका बैठकमा नगरप्रमुख राईले सप्तरङ्गी पार्कलाई बहुसांस्कृतिक पार्क बनाउने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावमा कार्यपालिका सदस्य अनुप देवानले फरक धारणा राखे ।
त्यसपछि प्रमुख राईले देवानलाई बैठकस्थलबाट बाहिर निस्किन निर्देशन दिँदै ‘बैठकस्थलबाट बाहिर जानू’ भनेका थिए । त्यसपछि नीति विपरीत कार्यपालिका सदस्यको अपमान गरेको भन्दै वडाध्यक्षसहित कार्यपालिका सदस्यहरू बैठकस्थलबाट बाहिरएका थिए । सोही विवादका कारणले हालसम्म कार्यपालिका बैठक बस्न सकेको छैन ।
कार्यपालिका सदस्यहरूले नगरप्रमुख राईले आत्मालोचना गरी माफी माग्नुपर्ने अडान राख्दै आएका छन् । उक्त विषयले नै शुक्रबार बोलाइएको कार्यपालिका बैठक पनि बस्न सकेन । शुक्रबार २० वटै वडाका वडाध्यक्षसहित कार्यपालिका सदस्यहरूले पत्रकार सम्मेलन गरी बैठक बस्न नसक्नुका कारण सार्वजनिक गर्दै नगरप्रमुख राईलाई बैठक बस्ने वातावरण बनाउन अनुरोध गरेका थिए ।
शुक्रबार नगरप्रमुख राईले पनि पत्रकार सम्मेलन गरेर वडाध्यक्षहरूले लगाएका आरोपको खण्डन गरे । पत्रकार सम्मेलनमा प्रमुख राईले कार्यपालिकामा आफू नीतिअनुरूप नै प्रस्तुत भएको दाबी गर्दै कुनै पनि अवस्थामा माफी नमाग्ने अडान लिए । पत्रकार सम्मेलनमा नगरप्रमुख राईले वडाध्यक्षहरूको राजीनामा माग गरेका थिए । पत्रकार सम्मेलनमा नगरप्रमुख राई भने, ‘भनेको नमान्ने वडाध्यक्षहरूले राजीनामा दिए हुन्छ ।’
नगरप्रमुख राईले आफूजस्तै जननिर्वाचित वडाध्यक्षहरूलाई राजनीनामा दिनू भनेपछि राजनीतिक दलले आपत्ति जनाएका हुन् । राजनीतिक दलको संयुक्त विज्ञप्तिमा नगरप्रमुख रार्ईलाई ‘अभिभावकीय भूमिका निर्वाह गर्न छाडेर कार्यपालिका सदस्यहरूलाई धम्क्याउने तवरले राजीनामा दिनू भनी प्रयोग गरिएको शब्द फिर्ता लिई संवाद र छलफलद्वारा समाधान खोज्न र सामूहिक नेतृत्वसहितको समन्वय, सद्भाव र सहकार्यको अवधारणा अनुरूप अगाडि बढ्न’ सुझाव दिइएको छ ।
यस्तै नगरप्रमुख राईले नेतृत्वको हैसियतमा समस्या समाधानको पहल लिने अवस्थामा कार्यपालिका सदस्यहरूलाई धम्क्याउने शब्द प्रयोग भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
विज्ञप्तिमा ‘हजारौँ शहीदहरूको बलिदान, लाखौँलाख पार्टी कार्यकर्ताहरू र नेपाली जनताको रगत पसिनाबाट स्थापित भएको लोकतान्त्रिक व्यवस्थामा एउटा जनप्रतिनिधिलाई आफ्नो मत राख्न नदिएको घटनाले धरान उपमहानगरपालिकामा स्वेच्छाचारी, अप्रजातान्त्रिक सर्वज्ञानी म मात्र हो भन्ने मपाईतन्त्र, दम्भ र उद्दण्डसहितको अधिनायकवाद उदय हुन लागेको आभास भएको छ’ भनिएको छ ।
विज्ञप्तिमा अहिलेको धरान उपमहानगरको निर्वाचित जनप्रतिनिधिहरूको समीकरण धरानको विकास र समृद्धिको लागि सबैको सहकार्य र समन्वय झन् जरुरी भएको उल्लेख छ । विज्ञप्तिमा मुलुक नयाँ परिवर्तनलाई संस्थागत गर्ने चरणमै रहेको बेला केही तत्वहरूको सल्बलाहट सुरु भएकोले त्यसप्रति गम्भीर हुन आग्रह पनि गरिएको छ ।