विराटनगर । प्रदेश १ का नवनिर्वाचित प्रदेश सांसद्ले आज (सोमबार) सपथ लिँदै छन् । अधिकांशले नेपाली भाषामा सपथ लिने कार्यक्रम भए पनि पाँचजना सांसद्ले भने मातृभाषामा सपथ ग्रहण गर्ने भएका छन् ।
मातृभाषामा सपथ ग्रहण गर्ने सांसद्हरूलाई पुस ५ गते नै सार्वजनिक सूचना जारी गरिएको थियो । मातृभाषामा सपथ लिन सपथ लिने दिनभन्दा तीन दिनअगावै विवरण उपलब्ध गराउन संसद् सचिवालयले सूचना जारी गरेको थियो । सोमबार ज्येष्ठ सदस्य गयानन्द मण्डलले दिउँसो १ बजे प्रदेशसभामा ९३ जना प्रदेश सांसद्लाई सपथ खुवाउँदै छन् ।
‘पाँचजना माननीय सदस्यले फरक–फरक भाषामा सपथ लिने नाम टिपाउनुभएको छ’–प्रदेशसभा सचिव गोपाल पराजुलीले भने । मातृभाषामा सपथ लिन चाहनेमा एकीकृत समाजवादीका दुई, काङ्ग्रेस, माओवादी र जनता समाजवादी पार्टीका १–१ जना सांसद् रहेका छन् ।
मातृभाषामा सपथ लिनेमा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका पाँचथर १ (२) बाट दोस्रो पटक निर्वाचित माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो, इलाम १ (१) बाट निर्वाचित पर्यटन तथा संस्कृतिमन्त्री नेकपा (एकीकृत समाजवादी) की खिनु लङ्वा लिम्बू, नेकपा (एकीकृत समाजवादी) का पाँचथर १ (१) बाट निर्वाचित कमलप्रसाद जवेगु, काङ्ग्रेसका ताप्लेजुङ १ (२) बाट निर्वाचित खगेनसिंह हाङ्गाम र जनता समाजवादी पार्टीकी निर्मला लिम्बूले मातृभाषा याक्थुङ भाषामा सपथ लिने प्रदेशसभा सचिवालयले जनाएको छ ।
सोमबार १२ः३० बजे प्रदेश प्रमुख पर्शुराम खापुङले ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईंलाई सपथ ग्रहण गराउने र गनगाईंले अन्य सदस्यलाई १ः३० बजे प्रदेशसभा भवनमा सपथ गराउने कार्यक्रम रहेको छ ।
राष्ट्रिय पोसाक तथा संस्कृति झल्काउने पोसाकमा सपथ ग्रहणमा उपस्थित हुनसमेत संसद् सचिवालयले आग्रह गरेको छ । प्रदेश सभामा ६ राजनीतिक दलबाट सांसद् छन् ।
काङ्ग्रेसका ७९ वर्षीय मण्डल सबैभन्दा बढी उमेरका सांसद् हुन् । नयाँ सभामुख चयन नगरेसम्म उनैले प्रदेशसभाको अध्यक्षता गर्नेछन् । प्रदेशसभामा ९३ सांसद् छन् । प्रत्यक्षमा ५६ जना प्रत्यक्ष र ३७ जना समानुपातिक सांसद् रहेका छन् । जसमा नेकपा (एमाले)का ४०, काङ्ग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, एकीकृत समाजवादीको ४ र जनता समाजवादी पार्टीका १ जना सांसद् रहेका छन् ।