सुनसरी । सर्वसाधारणको गुनासो र जिज्ञासा सुन्न भन्दै कोसी गाउँपालिका क्षेत्रका जनप्रतिनिधि जनताको घर आँगनमा पुग्न थालेका छन् ।

लगातार दोस्रोपटक निर्वाचित भएपछि ‘अध्यक्षसँग जनता’ कार्यक्रममार्फत् जनताको समस्या तथा गुनासो सुन्न जनताको घर आँगनमा पुग्न थालेको कोसी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारी बताउँछन् ।

आफ्नो नेतृत्वमा भएका विकास निर्माण कार्य लिएर  गाउँपालिका अध्यक्ष अन्सारीसहितका जनप्रतिनिधि जनतासमक्ष पुगेका छन् । विकास निर्माण कार्यका बारेमा जनस्तरबाट प्रतिक्रिया लिने उद्देश्यले अध्यक्षसँग जनता कार्यक्रम लिएर गाउँपालिका अध्यक्ष अन्सारीको नेतृत्वमा जनप्रतिनिधि जनताको घरदैलोमा पुगेका हुन् ।

जसको सुरुवात बिहीबार कोसी गाउँपालिका–७ हरिपुरबाट भएको छ । बिहीबारबाट सुरु भएको जनतासँग अध्यक्ष कार्यक्रम आठवटै वडामा गरिने कोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चोलाराज दङ्गालले जानकारी दिए । आफ्नो पहिलो कार्यकालमा उल्लेख्य प्रगति गरेको बताउने गाउँपालिका अध्यक्ष अन्सारीले आगामी दिनमा जनचाहनाअनुसारका काम गर्न उनीहरूका गुनासोसहित आवश्यक सल्लाह एवम् सुझाव सङ्कलन गर्ने अभिप्रायले जनताको घरआँगनमा पुगेको बताउँछन् ।

‘पहिलो कार्यकालमा उपलब्धिमूलक कामकाज सम्पन्न गरेका छौं’ उनले भने, ‘भौतिक निर्माण कार्यदेखि शिक्षा, स्वास्थ्य, खानेपानी क्षेत्रमा निकै सुधार आएको छ । ती कामहरू भएपछि जनता कतिको लाभान्वित भएका छन् ।

त्यसमा थप के के सुधार गर्न सकिन्छ; तिनीहरूका बारेमा जनताबाट सल्लाह, सुझाव पाउनका साथै गुनासो र जिज्ञासा सुन्न भन्दै जनतासँग अध्यक्ष कार्यक्रम सुरुवात गरिएको हो । जनतासँग भोट माग्न मात्रै नभई उनीहरूका आवश्यकता र चाहना बुझ्न बेला–बेला जनतासमक्ष जानुपर्छ ।’

जनतासँग अध्यक्ष कार्यक्रम पहिलो दिन उपाध्यक्ष अनिता यादवसहित ७ नम्बर वडाका ५५ जना सर्वसाधारण सहभागी थिए । सहभागीमध्ये ललित यादवले हात्ती, अर्नालगायत कोसी गाउँपालिका क्षेत्रमा मुख्य समस्याको रूपमा रहेकोे जनावर आतङ्क रोक्न गाउँपालिका क्षेत्रका जनप्रतिनिधिलाई ध्यानाकर्षण गराइन् ।

सहभागी बलदेव साह, बलराम यादव, लठाई मुखियासहितले विकास निर्माण कार्यको गुणस्तरमा विशेष ध्यान दिन गाउँपालिका अध्यक्ष अन्सारीलगायतको ध्यानाकर्षण गराएका थिए ।

photo-ina