विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा उद्धब थापा निर्वाचित भएका छन् ।  २९ जना मतदाता रहेकोमा थापाले १८ मत ल्याएर संसदीय दलको नेतामा शुक्रबार निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी केदार कार्कीले ९ र अमृत अर्यालले २ मत मात्र ल्याए ।

दलको नेतामा निर्वाचित भएका थापा सिटौला पक्षका नेता हुन् । उनले संस्थापन पक्षका देउवा पक्षीय नेता अर्याल र संस्थापनइतर पक्षबाट  कार्कीलाई हराउँदै दलको नेतामा निर्वाचित भएका हुन् ।

दलको नेता दाबी गरिरहेका भीम पराजुली थापाको समर्थक बसेका छन् । सिटौला पक्षबाट दुई जना हुने भएपछि उद्धव मात्रै अघि सरेका हुन् ।  दलको नेतामा निर्वाचित भएका थापा नेपाली काँग्रेस प्रदेश १ का सभापति पनि हुन् ।

संस्थापन पक्षले एक जनामात्रै उम्मेदवार बनाउन गरेको प्रयास विफल भएपछि दुई जनाले नै उम्मेदवारी दर्ता गराएका थिए । ९३ सदस्यीय प्रदेश सभाको दोस्रो ठूलो दल कांग्रेससँग जम्मा २९ सांसद छन् ।