धनकुटा । धनकुटा नगरपालिकाले धनकुटामा शनिबार वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गरेको छ ।

बेरोजगारलाई रोजगारी र रोजगारदातालाई कर्मचारी उपलब्ध गराउन सहजीकरण गर्ने उद्देश्यले एक दिने मेला आयोजना गरेको हो । कोशी प्रदेश सभा सदस्य निरन राईले मेला उद्घाटन गरे । उनले वृत्ति परामर्श तथा रोजगार मेलाले रोजगारीको अवसर र रोजगारी सिर्जना गर्न कोशेढुङ्गा सावित हुने बताए । उनले बेरोजगार जनशक्ति र रोजगारदातालाई एकै ठाउँमा ल्याएर आयोजना गरिएको रोजगार मेला निकै फलदायी हुने विश्वास व्यक्त गरे । सबै किसिमको कामलाई सम्मान गर्नुपर्ने भन्दै उनले कामका आधारमा कसैलाई पनि विभेद गर्न नहुने धारणा राखे ।

जिल्ला समन्वय समितिका प्रमुख निरन तामाङले तीनै तहको सरकार मिलेर व्यावसायिक शिक्षामार्फत् रोजगारमूलक जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए । बजारको आवश्यकताअनुसार जनशक्ति उत्पादन भएमा रोजगारीको सुनिश्चितता हुने भएकाले सोहीअनुसार जनशक्ति उत्पादनमा ध्यान दिन उनको सुझाव छ । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले उद्यमशीलताको विकासलाई प्राथमिकतामा राखेर उद्यमशीलतासँगै रोजगारी वृद्धि गर्दै अघि बढ्ने धारणा राखे ।

मेलामा आवेदन दिएका युवायुवतीलाई थप सीप सिकाएर दक्ष बनाउने उनले जानकारी दिए ।मेलामा रोजगार प्रदायक, तालिम प्रदायक, परामर्शदाता र उद्यमसहितका १५ स्टल राखिएको थियो । मेलामा रोजगारदाता ५३ संस्थाले मासिक ७ हजारदेखि ४५ हजारसम्म तलब सुविधा दिने गरी १ सय ७० जना कर्मचारी मागसहित विवरण बुझाएका थिए ।

रोजगारीको खोजी गर्दै ४ सय ५५ जना व्यक्ति सम्पर्कमा आएकाले उनीहरूलाई रोजगारदाताहरूसँग सम्पर्क गराएर रोजगारीका लागि सहजीकरण गरिएको धनकुटा नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीले जानकारी दिए ।

दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाको सहयोग तथा हेल्बेटासको प्राविधिक सहयोगमा आयोजित मेलामा वृत्ति विकाससम्बन्धी परामर्श सेवा र सीपमूलक तालिम दिने संस्थाको बारेमा पनि जानकारी गराइएको छ । मेलामा लोकसेवासम्बन्धी परामर्श दिने स्थल, स्थानीय उद्योगहरूले उत्पादन गरेको उपभोग्य वस्तुहरूको प्रदर्शनी, ग्रील तथा स्टील व्यवसायी सङ्घले ५० जनालाई रोजगारीको लागि आह्वान गरेको थियो ।