मसला तथा औषधिजन्य नगदेबाली अदुवाको मूल्य दशककै उच्च पुगेको छ । चालु आर्थिक वर्षको चैत, वैशाखदेखि हालसम्म अदुवाको थोक मूल्य इतिहासमै सबैभन्दा बढी पुगेको धरानस्थित कृषि उपज बजारको तथ्यांकले देखाएको छ ।
कृषि बजारको थोक मूल्य प्रतिकेजी २ सय ५० रुपैयाँ पुगको छ । चालु आर्थिक वर्षको जेठ महिनासम्म ९ हजार ९ सय ७ मेट्रिक टन बिक्री भएको अदुवाको मूल्य भारतमा नै उच्च रहेकाले सजह निर्यात भइरहेको कृषि बजार व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए ।
विगत १ दशकको तथ्यांक अनुसार आर्थिक वर्ष ०६९–७० मा कायम रहेको प्रति केजी मूल्य १ सय ७० रुपैयाँलाई उछिनेर चालु आवमा उच्च मूल्य कायम भएको हो । एक दशकमा आव ०६९–७० मा सबैभन्दा कम ५ हजार ६ सय ५० मेट्रिक टन अदुवा बिक्री भएको थियो । बिक्री भएको सबैभन्दा कम मूल्य भने आर्थिक वर्ष ०७३–०७४ मा रहेको थियो । औसत प्रति केजी १५ रुपैयाँ रहेको अदुवा कृषकहरुले बजारमा फ्याँकेर हिंडेका थिए ।
तथ्यांकअनुसार सबैभन्दा बढी आव ०७८–७९ मा १० हजार ६ सय ४१ मेट्रिक टन अदुवा कृषि बजारबाट बिक्री भएको थियो । तर यो वर्ष अदुवाको मूल्य ४० रुपैयाँ प्रति केजी हुँदा कारोबार बढे पनि मूल्य कम रहेको थियो । भारतमा समेत माग कम हुँदा कृषकले आकर्षक मूल्य पाएका थिएनन् ।
कृषि बजार स्थल धरानबाट कारोबार हुने अदुवाको मूल्य विवरणअनुसार आर्थिक वर्ष ०६९–७० मा प्रति केजी १ सय ७० रुपैयाँ थोक मूल्य स्थापित थियो । यो आवमा ५ हजार ६ सय ५० मेट्रिक टन बिक्री भएकामा प्रति मेट्रिक टन १ लाख ५० हजार मूल्य रहेको थियो ।
सुनसरी, मोरङ, उदयपुरका उत्तरी क्षेत्र र कोशी पहाडी जिल्लाका साथै सिन्धुली, खोटाङ, पाँचथरलगायतका जिल्लाबाट धरान कृषि बजारसम्म अदुवा आउने गरेको छ ।
आव ०७०–७१ मा १ सय ५० रुपैयाँ थोक मूल्य कायम भएकामा औसत थोक मूल्य १ सय ३० रुपैयाँ केजी रहेको थियो । ६ हजार ५ सय ४० मेट्रिक टन बिक्री भएको यो आवमा १ लाख ३० हजार प्रति मेट्रिक टनमा कारोबार भएको थियो ।
आव ०७१–७२ मा औसत थोक मूल्य १ सय रुपैयाँ प्रतिकेजी रहेको अदुवाको मूल्य ७ हजार ५ सय ५० मेट्रिक टन कारोबार भएकामा प्रति मेट्रिक टन १ लाख रुपैयाँको कारोबार भएको थियो ।
आव ०७२–७३ मा औसत मूल्य प्रति केजी ४० रुपैयाँमा झरेको अदुवाको मूल्य ८ हजार ८ सय ३० मेट्रिक टन बिक्री भएकामा प्रति मेट्रिक टन ४० हजार रुपैयाँमा कारोबार भएको थियो ।
आव ०७३–७४ मा औसत मूल्य १५ रुपैयाँमा झरेको अदुवाको मूल्य ९ हजार ५ सय ७६ मेट्रिक टन बिक्री भएको थियो । यो वर्ष निर्यातमा समस्या हुँदा कृषकले बजारमा अदुवा फ्याँकेर हिंडेको कृषि बजार व्यवस्थापक भट्टराईले जानकारी दिए ।
आव ०७४–७५ मा ९ हजार १ सय ८५ मेट्रिक टन बिक्री भएको अदुवाको मूल्य १ सय रुपैयाँ प्रतिकेजी रहेको थियो । आव ०७५–७६ मा ९ हजार ६ सय १२ मेट्रिक टन बिक्री भएको अदुवा प्रति टन २ लाख रुपैयाँ सम्म पुगेको थियो ।
०७६–७७ मा ७ हजार २ सय १ मेट्रिक टन बिक्री भएको अदुवाको मूल्य प्रति केजी ९० रुपैयाँ पुगेको थियो । कोभिड संक्रमणका कारण भएको लकडाउनका कारण कृषकले सहज रुपमा अदुवा बजारसम्म ल्याउन नसकेका कारण यो आवमा कम कारोबार भएको कृषि बजार व्यवस्थापक भट्टराईले जानकारी दिए ।
लकडाउनकै कारण कम कारोबार भएको आव ०७७–७८ मा ६ हजार ७ सय २ मेट्रिक टन बिक्री हुँदा अदुवाको प्रतिकेजी मूल्य ५२ रुपैयाँमा झरेको थियो ।
भारतमा समेत माग कम हुँदा कारोबार बढे पनि मूल्य कम रहेको आव ०७८–७९ मा १० हजार ६ सय ४१ मेट्रिक टन बिक्री हुँदा प्रति केजी मूल्य ४० रुपैयाँमा गिरावट भएको थियो ।
चालु आर्थिक वर्षमा भने इतिहासमै अदुवाको मूल्य २ सय ५० रुपैयाँ पुगेको हो । जेठदेखि माउ अदुवा एकीकतृत भएर आउने हुँदा साउनसम्मै अदुवाको सिजन मानिन्छ ।
अदुवाः अर्बौंको कारोबार
धरान कृषि बजारले वार्षिक करोडौंको अदुवा बिक्री गर्दै आइरहेको छ ।
चालु आर्थिक वर्षको अधिकत्तम मूल्य विश्लेषण गर्दा २ अर्ब बढीको कारोबार गरेको देखिन्छ । यद्यपि औसत मूल्य भने कृषि बजारको हालको तथ्यांकमा देखिंदैन । अधिकत्तम मूल्यअनुसार चालु आवमा धरान कृषि बजारबाट २ अर्ब ४७ करोड ६७ लाख ५० हजारको अदुवा बिक्री भएको छ ।
चालु आर्थिक वर्षको जेठ महिनासम्म ९ हजार ९ सय ७ मेट्रिक टन बिक्री भएको अदुवाको अधिक्तम मूल्य प्रति मेट्रिक टन २ लाख ५० हजार रुपैयाँसम्म बिक्री भएको छ ।
आर्थिक वर्ष ०६९–७० मा ५ हजार ६ सय ५० मेट्रिक टन बिक्री भएको अदुवाको वार्षिक कारोबार ८४ करोड ७५ लाख रुपैयाँ पुगेको थियो । यस्तै आव ०७०–७१ मा ८५ करोड २ लाखको बिक्री भएको थियो । आर्थिक वर्ष ०७१–७२ मा ७५ करोड ५० लाखको बिक्री भएको थियो भने आव ०७२–०७३ मा ३५ करोड ३२ लाखको बिक्री भएको थियो । आव ०७३–७४ मा भने १४ करोड ३५ लाख ५ हजारको बिक्री भएको थियो ।
आव ०७४–७५ को अधिक्तम मूल्यअनुसार ९१ करोड ८५ लाखको अदुवा बिक्री भएको तथ्यांकमा देखिन्छ । यस्तै आव ०७५–७६ मा प्रति टन २ लाखसम्म कायम भएको अदुवाको वार्षिक बिक्री १ अर्ब ९२ करोड २४ लाखको रुपैयाँको भएको देखिन्छ ।
‘चालु आर्थिक वर्षको औसत मूल्य निकालिएको छैन यो अधिक्तम मूल्य हो,’ कृषि बजार व्यवस्थापक लक्ष्मण भट्टराईले भने, ‘१ सय रुपैयाँ न्युनत्तम मूल्यदेखि इतिहासकै उच्च मूल्य २ सय ५० रुपैयाँ प्रति केजीसम्म पुगेको देखिन्छ ।’