गत वर्षभन्दा यस वर्ष चैतेधानको मूल्य दोब्बर भएपछि मोरङका किसान उत्साहित भएका छन् । 

गत वर्ष मनको पाँच सय ५० रुपैयाँदेखि छ सय रुपैयाँसम्म मूल्य पाएको चैतेधानले यस वर्ष एक हजार एक सयदेखि एक हजार दुई सय ५० रुपैयाँ सम्ममा कारोबार भइरहेको छ ।

चैतमा रोपेर असारमा काटिने चैते धानलाई खेतमै पुगेर व्यापारीले राम्रो मूल्य दिन थालेपछि उत्साहित बनेको मोरङ बेलबारी–११ का भगिरथ घिमिरेले बताए । 

‘यसअघिका वर्षमा चैते धानले किसानको उत्पादन गर्दा लाग्ने खर्च पनि उठाउँदैन थियो, तर यो वर्ष नसोचेको मूल्य पायौँ’, उनले भने । 

चैतेधान लगाउने कृषकलाई कोशी प्रदेश सरकारले प्रोत्साहनस्वरुप प्रतिकठ्ठा  पाँच सय रुपैयाँ दिने निर्णय गरेको छ । तर धेरै किसानले यो सुविधा थाहा नभएको जनाएका छन् । 

एक बिघा जमिनमा चैतेधान लगाएका बेलबारी–११ का दिपेन राईले प्रदेश सरकारको यो निर्णय थाहा नभएकाले त्यो सुविधा पाए किसानलाई राहत हुने बताए ।

मोरङमा एक लाख ११ हजार खेतीयोग्य जमिन रहेको यसमध्ये २१ हजार नौ सय हेक्टरमा मात्र चैते धान लगाउने गरिएको छ । ८३ हजार तीन सय हेक्टरमा बर्खे धान लगाउने गरिएको कृषि ज्ञान केन्द्र विराटनगरका प्रमुख रामदेव सिंहले जानकारी लिए । 

उनले यसमा पाँच दशमलव पाँच मेट्रिक टन प्रतिहेक्टर धान उत्पादनको तथ्याङ्क रहेको बताए । 

उचित मूल्यको कमीले चैते धानप्रति कृषकको आकर्षण घट्दो रहेको थियो तर यस वर्षको मूल्यले कृषकमा चैते धानप्रति आकर्षण बढाएको छ । हिउँदमा पनि निरन्तर सिँचाइको सुविधा हुने खेतमा चैतेधान लगाउने गरिन्छ ।