धरान/ बराह बचत तथा ऋण सहकारीले तीनसाताअघि चैत १ गते एक सूचना सार्वजनिक गर्दै चैत २२ गतेदेखि सहकारीको काउण्टर सञलन गर्ने र बचतकर्ताको रकम फिर्ता गर्ने जनाएपछि मङ्गलबार पासबुक र ६ थान कुपन लिएर आइपुगे खलस्त मगर ।
धरान–८ धनकुटे मार्गस्थित बराह ग्रुप अन्तर्गतको सहकारीबाट रकम फिर्ता लिनका लागि मगरभन्दा अगाडि नै सयौं बचतकर्ताहरू आइसकेका थिए । उनीहरूभन्दा अगाडि आएर बराह ग्रुपको सपिङ कम्प्लेक्स भवनलाई सुरक्षा घेरामा राखिसकेको थियो प्रहरीले । पासबुक र कुपन लिएर पैसा लिन आउने बचतकर्ताहरूको भीडले तोडफोड र हिंसा गर्न सक्ने अनुमान गर्दै थप प्रहरी पनि परिचालन गरिएको थियो ।
भानुचोकनजिकै रहेको सपिङ कम्प्लेक्समा पनि प्रहरीले सुरक्षा दिएको थियो । धरान–८ का मगरले पासबुक र बराह सहकारीले यसअघिको भाका राखेर दिएको ६ थान कुपन देखाउँदै भने, ‘तीनसाताअघि सूचना जारी गरेर चैत २२ गतेदेखि पैसा दिन्छु भनेको आधारमा आज (मङ्गलबार) आएको त प्रहरी पो तैनाथ छ । हामीले बचत गरेर राखेको रकमको सुरक्षा छैन, बचतकर्ताको पैसा डुबाउनेलाई पो सुरक्षा दिइरहेको देख्नुपर्यो ।’
आफ्नो श्रीमती खिनामाया केप्छाकी मगरको नाममा रहेको खातामा ७ लाख रुपैयाँ बराह सहकारीमा राखेको मगरले बताए । धरान–६ बस्ने उनका साथी भरत मगरले पनि ८ लाख रुपैयाँ राखेको बताए ।
भीडमा अधिकांश कराइरहेका थिए । बराह सहकारी र बराह ग्रुपका पदाधिकारीलाई गाली गरिरहेका थिए । आफूले राखेको बचत रकमसमेत नपाउँदा बराह ग्रुप र सहकारी डुबेको अनुमान लगाइरहेका थिए । कसैले घरजग्गा खरिद गर्न, कसैले अस्पतालमा उपचार खर्च चाहिएर, कसैले छोराछोरीलाई उच्चशिक्षा पढाउन, कसैले ऋण तिर्न, कसैले घरखर्च चलाउन सहकारीबाट रकम झिक्न चाहेको बताए । सहकारीमा करोडभन्दा माथि राख्नेहरू भने देखिएका थिएनन् । सहकारीबाट पैसा नपाउनेहरूले व्यक्तिपिच्छे पीडा र चिन्ता व्यक्त गरिरहेका थिए ।
किरात राई यायोक्खा प्रारम्भिक कमिटी (प्राकास) धरान–९ र १० का सचिव आशबहादुर राईले भने, ‘सहकारीमा मेरो व्यक्तिगत बचत चाहिँ २ लाख रुपैयाँमात्र भए पनि मुख्य चिन्ता भनेको संस्थाको पैसा हो । यायोक्खा प्राकासको १० लाख रुपैयाँ सहकारीमा छ तर, हाम्रो संस्थालाई आवश्यक परेको बेला निकाल्न नपाएपछि संस्थाकै पैसा डुब्ने अवस्था आयो ।’
पाँचहजार जनाभन्दा बढी बचतकर्ताबाट सङ्कलन गरेको रकमलाई सहकारीले बराह ग्रुप अन्तर्गत रहेको अन्य व्यापारिक, व्यावसायिक र वित्तीय संस्थामा लगानी गरे पनि बचतकर्ताको रकम भने पाँच महिनादेखि सावाँ र ब्याज दिन सकेको छैन । अहिले काउण्टरसमेत बन्द रहेको छ ।
बराह ग्रुप अन्तर्गत सहकारीसहित बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि., अभिमत सेभिङ एण्ड क्रेडिट लिमिटेड, दुबईमा अल बराह मिनी मार्केट एलएलसी, बराह बालसंसार, बराह फेमिली किचन, चितवनमा नारायणी बराह ज्वेलरी नारायणी, गोर्खा बराह ज्वेलरी पोखरा, इन्द्र बराह ज्वेलरी हङ्कङ, इन्द्र बराह ट्राभल्स एण्ड टुर्स, कृपा दृश्य डिजिटल प्रा.लि. रहेका छन् ।
सहकारीका अध्यक्ष मानवहादुर विश्वकर्मा हुन् भने बराह ग्रुपका अध्यक्ष शिव लामिछाने हुन् । गत पुसमा सहकारीले आफ्नो १२ औं वार्षिक साधारणसभामा ३ करोड ६७ लाख ३२ हजार ३ सय ४३ रुपैयाँ ८० पैसा खुद नाफा देखाएर बचतकर्ताहरूलाई विश्वस्त बनाउने प्रयास गरेको थियो ।
त्यसबेला सहकारीले शेयर पुँजी १० करोड २९ लाख १६ हजार ५ सय रुपैयाँ, जगेडा कोषमा ३ करोड २८ लाख ८० हजार ९ सय ८७ रुपैयाँ ४३ पैसा, निक्षेप सङ्कलन ७२ करोड १९ लाख ८४ हजार ६ सय ४४ रुपैयाँ ३४ पैसा र ऋण लगानी ७९ करोड ३२ लाख ४४ हजार ८ सय २९ रुपैयाँ ८७ पैसा गरेको जनाएको थियो । बराहले दुई वर्षअघिमात्र बचतकर्ताकै रकमले धरान–८ धनकुटेमार्गस्थित गोर्खा सपिङ कम्प्लेक्स खरिद गरेको थियो । बराह ग्रुपले उक्त सपिङ कम्प्लेक्स ७५ करोड रुपैयाँमा खरिद गरे पनि बचतकर्ताहरूलाई भने १ अर्ब ४५ करोड रुपैयाँमा खरिद गरेको बताइएको छ ।
तीनसाताअघि तोकेको भाखाअनुसार रकम झिक्न आउने बचतकर्ताहरूको भीडले सहकारी घेराउ गरेर नछाडेपछि बराह सपिङ कम्प्लेक्सकै सानो झ्यालबाट माइकिङ गर्दै बराहग्रुपका अध्यक्ष शिव लामिछानेले बचतकर्ता र शेयर सदस्यहरूसँग एक पटक फेरि मौका दिन अनुरोध गरे । उनले भने, ‘जतिसक्दो समाधान गर्न खोजे पनि समयले साथ नदिएकाले भुक्तानी गर्न सकिरहेका छैनौं । नआत्तिनु होला । बरु तपाईंहरूले साथ दिनु पर्यो ।’
बराहग्रुपका अध्यक्ष लामिछानेपछि सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्माले प्रहरी प्रशासनको रोहवरमा वैशाख १५ गतेदेखि सहकारीको काउण्टर सञ्चालन गर्ने बताए । उनले भने, ‘चैत २२ गतेदेखि काउण्टर सञ्चालनमा ल्याउने र ब्याजसहित रकम फिर्ता गर्ने भनेर बचतकर्ताहरूसँग यसअघि सहमति गरे पनि ‘क्यास’ व्यवस्थापन गर्न नसक्दा आजदेखि काउण्टर सञ्चालन गर्न सकेनौं । बचतकर्ताहरूको लगानी सुरक्षित छ । तर, तत्काल भुक्तानी गर्न नसक्ने अवस्थामा छौं । त्यसैले वैशाख १५ सम्म पर्खिदिन अनुरोध गर्छु ।’ उनीहरूले बचतकर्तालाई रिझाउने प्रयास गरे पनि अधिकांश बचतकर्ताहरूले बराह ग्रुप र सहकारीमा कार्यरत सबै कर्मचारी पदाधिकारीको सम्पत्ति रोक्का गर्नुपर्ने र छानबिनको दायरामा ल्याउन माग गरेका थिए ।
बराह ग्रुप र सहकारीमा आर्थिक सङ्कट देखापर्नुका पछाडि व्यापार–व्यवसाय र वित्तीय संस्था सञ्चालन गर्ने संस्था सञ्चालन गर्ने पदाधिकारीहरूमा सम्बन्धित विषयको शैक्षिक योग्यता, क्षमता र दक्षता नहुनु मुख्य कारण रहेको बताइएको छ ।
भीडमा एक बचतकर्ताले भने, ‘अनुभवका आधारमा सानो पँुजीको व्यापार व्यवसाय, वित्तीय संस्था सञ्चालन गर्न सकिने भए पनि अर्बौंको पुँजी र देशविदेशमा विस्तार भएको संस्थामा सामान्य जग्गा दलाल जस्ता व्यक्तिले ठूलो पुँजीको संस्थालाई व्यवस्थापन र परिचालन गर्न नसक्दा बराह ग्रुप र सहकारीमा बचतकर्ताको पँुजी डुब्ने अवस्थामा पुगेको हो ।’
वैशाख १५ गतेको भाखामा सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न सक्छ कि सक्दैन त्यो हेर्न भने २३ दिन पर्खनु पर्नेछ ।