धरान । तेजपत्ताको कारोबार बर्सेनि बढे पनि स्थानीय उत्पादकले मूल्य पाउन सकेका छैनन् । भारतीय व्यापारीको मागमा मूल्य निर्धारण हुने भएकाले नेपाली उत्पादकहरूले तेजपत्ताको मूल्य भने जति पाउन नसकेका हुन् ।
धरानस्थित कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार गतवर्षको तुलनामा यो वर्ष तेजपत्ताको निर्यात १५ देखि २० प्रतिशतले बढ्ने सङ्केत देखिएको छ । उनका अनुसार यो वर्ष वैशाखसम्ममा करिब १६ करोड रुपैयाँ बराबरको ४ हजार मेट्रिक टन तेजपत्ताको कारोबार हुने अवस्था छ । उनले भने, ‘भारतीय व्यापारीहरूले सस्तोमा तेजपत्ता खरिद गरेर कच्चा पदार्थको रूपमा लैजाने गरेका छन् । कच्चापदार्थको रूपमा नेपालबाट तेजपत्ता निर्यात भए पनि वार्षिक १६ करोड रुपैयाँको कारोबार हुनु भनेको ठूलो रकम हो ।’
गतवर्ष धरानको कृषिउपज बजारबाट ३ हजार ४ सय २० मेट्रिक टन अर्थात् करिब १५ करोड रुपैयाँको कारोबार भएको थियो । औषधि र मसलाजन्य नगदेबालीका रूपमा तेजपत्तालाई लिइन्छ । बोलीचालीको भाषामा हाँगासहितको पातलाई सिन्कौली र यसको रुखको बोक्रालाई दालचिनी भनिने तेजपत्ता नेपालमा व्यापक उत्पादन भए पनि मुख्य बजार भने भारत हो ।
नेपालमा उत्पादित ९५ प्रतिशत तेजपत्ता भारतमा निर्यात हुने गरेको छ । तेजपत्ता बहुगुणी वनस्पतिमा पर्छ । आयातभन्दा निर्यात बढ्दा नेपालमा हाल डलर मुद्रा सञ्चितीमा सङ्कट देखापरेको छ । तेजपत्ता नेपालबाट निर्यात हुने ३० प्रजातिको वनस्पतिमा पर्छ । तर कच्चा पदार्थको रुपमा । आयात प्रतिस्थापन गर्न सरकारले तेजपत्ता प्रशोधन, ब्राण्डिङ, प्याकेजिङ, लेवलिङ र मार्केटिङ गर्नसके वार्षिकरूपमा अर्बौं रुपैयाँको कारोबार गर्न सकिने अवस्था रहेको यसका विज्ञहरूले बताउँदै आएका छन् ।
यसको मूल्य हाल टिपेर ल्याएको सुख्खा पातको प्रतिकिलो ४० रुपैयाँमात्र रहेको छ । बजार व्यवस्थापक भट्टराईका अनुसार आर्थिक वर्ष ०७६/७७ मा करिब १२ करोड ५० लाख रुपैयाँ बराबरको ३ हजार १ सय १० मेट्रिक टन तेजपत्ता भारतीय बजारमा निर्यात भएको थियो ।
आर्थिक वर्ष ०७७/७८ मा ३ हजार ८ सय ७५ मेट्रिक टन अर्थात् १५ करोड ५० लाख रुपैयाको निर्यात भएको थियो । धरानबाट भारतमा निर्यात भएका उक्त परिमाणका तेजपत्ता धनकुटा, सङ्खुवासभा, तेह्रथुम र सुनसरीका उत्तरी भेगका किसानहरूले उत्पादन गरेका हुन् ।
उनले भने, ‘कोरोना महामारी भन्दा अघि नेपालको पुर्वी पहाडमा उत्पादित तेजपत्ताको माग अत्यधिक हुदा प्रतिभारीको मुल्य २ हजार रुपैयासम्म पुगेको थियो । मूल्य र परिमाणको आधारमा तेजपात नेपालबाट भारत निर्यात हुने वनस्पतिको प्रमुख दश प्रजातिमध्ये पर्दछ । तर, लकडाउनयता नेपाली किसानले तेजपत्ताको मूल्य सोचेजति नपाएकाले सस्तैमा बिक्री गरिरहेका छन् ।’
तेजपत्ताको मूल्य भारतीय व्यापारीमा भर पर्ने गरेकाले भारतीय व्यापारीले धेरै लगे भने मूल्य बढ्ने र भारतीय व्यापारीले खरिद गरेनन् भने स्वतः मूल्य घट्ने गरेको र कृषकले कति उत्पादन गरेर ल्याए भन्नुभन्दा पनि भारतीय व्यापारीले कति परिमाणमा खरिद गर्छन् भन्नेमा मूल्य भर पर्ने गरेको अवस्था रहेको भट्टराईले बताए ।
वन तथा भू-संरक्षण मन्त्रालय वनस्पति विभागका तेजपत्ताविज्ञ रोज श्रेष्ठ, प्राकृतिक सम्पदा अनुसन्धाशाला प्रमुख ज्योति जोशी भट्ट र सहायक–वैज्ञानिक अधिकृत कल्पना शर्मा (ढकाल)ले ०७३ सालमा तेजपत्ताको वैज्ञानिक व्याबसायिक खेती, उत्पादन, प्रशोधन र निर्यात बारे अनुसन्धान पत्र नै तयार गरेका थिए । उनीहरूले तयार गरेको अनुसन्धानअनुसार नेपालका चारदर्जन जिल्लामा तेजपत्ताको खेती हँुदै आएको छ ।
उक्त अनुसन्धान पत्रअनुसार बहुगुणी तेजपातको पातबाट सुगन्धित तेल निकालिन्छ, जसको अन्तर्राष्ट्रिय बजारमा उच्च माग छ । सुगन्धित तेल अन्तर्राष्ट्रिय बजारमा अत्यधिक महँगो पर्छ । तेजपातको बोक्रा र जराको बोक्रा विभिन्न औषधि, अत्तर, साबुन बनाउनमा प्रयोग हुन्छ ।
परम्परागत उपचार पद्दतिहरूमा पनि तेजपात रक्तस्राव रोक्न, स्फूर्तिदायक, वायुनाशकका रूपमा उपयोग गरिन्छ । बोक्रा तथा पात बासनादार, स्फूर्तिप्रदायक, वायुनाशक र वाकवाकी, बान्ता रोक्न, पेटको रोग र झाडा–पखाला, अत्यधिक र्याल आउने, आँखा, मलद्वार सुन्निने, घाँटीको मांसपेशीको ऐठन, कलेजोको उपचारमा पनि औषधीको रुपमा प्रयोग गर्ने गरिन्छ ।
मूल्य र परिमाणको आधारमा तेजपात नेपालबाट भारत निर्यात हुने वनस्पतिको प्रमुख दश प्रजातिमध्ये पर्दछ । नेपालबाट प्रशोधन नगरिएका कच्चापदार्थको रूपमा तेजपात भारतीय बजारमा पु¥याउने गरिएको र भारतीय बजारमा पु¥याएपछि त्यहीँका उद्योगले नेपालका तेजपत्ता, बोक्रालाई प्रशोधन, ब्राण्डिङ, प्याकेजिङ, लेवलिङ र मार्केटिङ गरेर महँगोमा बिक्री गर्ने र बाँकी अन्य मुलुकमा पठाउने गरेको छ ।
चुरेक्षेत्रका पाखाभित्तामा एक पटक रोपेपछि सय वर्षसम्म पात र बोक्रा (दालचिनी) उत्पादन हुने तेजपत्तालाई घाँसको मूल्यमा भारतीय बजारमा निर्यात गरेर पनि वार्षिक करोडौ रुपैया आम्दानी भइरहेकाले नेपालमै प्रसोधन, ब्राण्डिङ, प्याकेजिङ र लेवलिङ गरी अग्र्यानिक ब्राण्ड बनाएर धुलो मसला वा तेलको रूपमा बजारीकरण गर्नसके पूर्वी पहाडमा मात्र वार्षिक अर्बौंको आम्दानी गर्न सकिने सम्भावना रहेको बजार व्यवस्थापक भट्टराईले बताए । एउटा तेजपातको रुखबाट ८ देखि २० के.जी. सुख्खा पात्र उत्पादन गर्न सकिन्छ ।
तेजपत्ताको व्यावसायिक खेती र उत्पादन गर्दै आएका साँगुरीगढीका अगुवा कृषक धनबहादुर राईले भने, ‘भारतीय बजारको भरपर्नुपर्ने दिनको अन्त्य नभएसम्म सस्तोमा विक्रि गर्न बाध्य भइरहने अवस्था छ । उत्पादन भएपनि नेपालमै प्रशोधन गर्ने र आफ्नै ब्राण्ड बनाउने काममा सरकारले सहयोग नगरेसम्म सस्तो भाउमा घाँसको भारी बिक्री गरेजस्तो गर्नु परेको छ ।’
उनले आफ्नो बारीमा ५ सय बढी तेजपत्ताको बोट रोपेका छन् । उनी जस्तै सांगुरीगढीमा तेजपत्ताको व्यावसायिक खेती गर्दै आएका तुलवीर राई, कृष्ण मगरले तेजपत्ताको व्यावसायिक खेती गरेपनि मूल्य भने नपाएको बताए ।