धरान । यसपटकको निर्वाचनमा २०४८ सालयता भएका सात निर्वाचनमध्ये सबैभन्दा कम मत खसेको छ ।

२०४६ सालको जनआन्दोलनले पञ्चायती व्यवस्था ढालेपछि २०४७ मा प्रजातन्त्र पुनःस्थापना भएको थियो । त्यसपछि २०४८ वैशाख २९ गते भएको आम निर्वाचनमा एक करोड ११ लाख ९१ हजार ७ सय ७७ मतदाता मध्ये ६५.१५ प्रतिशत मत खसेको थियो ।

त्यसपछि २०५१ कात्तिक २९ गते भएको मध्यावधि निर्वाचनमा एक करोड २३ लाख २७ हजार ३ सय २९ मतदातामध्ये ६१.८६ प्रतिशत मत खसेको थियो ।

२०५६ को वैशाख २० गते र जेठ ३ गते भएको निर्वाचनमा एक करोड ३५ लाख १८ हजार ८ सय ३९ मतदातामध्ये ६५.७९ प्रतिशत मतदान भएको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ ।

त्यसपछि राजा ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन सञ्चालन गरेपछि आम निर्वाचन हुन सकेन । २०६२÷०६३ को जनआन्दोलनपछि राजतन्त्र अन्त्य भयो । त्यसपछि २०६४ चैत २८ गते भएको संविधानसभाको पहिलो निर्वाचनमा एक करोड ७६ लाख ११ हजार ८ सय ३२ मतदाता रहेकोमा ६१.७० प्रतिशतले मतदान गरेका थिए ।

२०७० मङ्सिर ४ गते भएको दोस्रो पटकको संविधानसभाको निर्वाचनमा एक करोड २१ लाख ४७ हजार ८ सय ६५ मतदातामध्ये ७८.७४ प्रतिशतले मतदान गरेका थिए ।

२०७४ सालमा मङ्सिर १० र २१ गते गरी दुई चरणमा भएको निर्वाचनमा एक करोड ५४ लाख २७ हजार ९३८ मतदातामध्ये ६८.६७ प्रतिशतले मतदान गरे ।

यसअघि गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदातामध्ये ६५.०७ प्रतिशतले मतदान गरेको आयोगको तथ्याङ्क छ । तर, यसपटकको निर्वाचनमा १ करोड ७८ लाख ८८ हजार ५ सय ७० मध्ये जम्मा ६१ प्रतिशतले मात्र मतदान गरेका छन् । आयोगका अनुसार प्रजातन्त्र पुनास्र्थापनापछिको यो सबैभन्दा कम मतदान हो ।

नेपालमा २०१५ फागुन ७ गतेदेखि चैत २८ गतेसम्म विभिन्न चरणमा मतदान भएको पहिलो निर्वाचनमा भने जम्मा ४२.१९ प्रतिशत मात्र मत खसेको थियो । त्यसबेला ४३ लाख ४६ हजार ४ सय ६८ मतदाता थिए ।