धरान । प्रदेश १ का प्रमुख परशुराम खापुङले किरात धर्मका संरक्षक गुरु लाफयङले देखाएको बाटोको अनुशरण गर्नुपर्ने बताएका छन् ।

इलामको चुलाचुलीमा शनिबार आयोजित गुरु लाफयङको ७९ औँ जन्मजयन्तीको अवसरमा बोल्दै प्रमुख खापुङले उनको बाटोलाई पछ्याए समाजमा एकता र शान्ति कायम हुने बताए । उनले नेपालको संविधानले सबै भाषा, धर्म र संस्कृतिको सम्मान गर्ने कुरा उल्लेख भएकाले सबै धर्म, संस्कृतिलाई संरक्षण गरेर लानुपर्ने बताए ।

फल्गुनन्द नोमाङ्गेन्ना सेवा सङ्घ इलामको आयोजनामा भएको कार्यक्रममा धर्म संरक्षक गुरु लाफयङ (देवहादुर तुम्बापो) को पूर्ण कदको सालिक पनि अनावरण गरिएको छ । खापुङले सबै जाति, भाषा, लिपि र संस्कृतिको विकासले मात्रै समाज र राष्ट्र समृद्ध हुने बताए ।

यसक्रममा सङ्घले सञ्चालन गरेको फल्गुनन्द लाफयङ बहुभाषिक पाठशालाको सातौँ वार्षिकोत्सवमा पनि मनाइएको संस्थापक अध्यक्ष डम्बर तुम्बापोले जानकारी दिए ।

कार्यक्रममा चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ, उपाध्यक्ष दिला लावतीलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा प्रदेशस्तरीय एसईई डान्सिङ स्टारकी विजेता नुमा लिम्बूले नृत्य प्रस्तुत गरेकी थिइन् ।

त्यसक्रममा गायिका दीपा लामाले गीत प्रस्तुत गरिन् । कार्यक्रममा चुलाचुलीबाट एसईईमा प्रथम भएकी भूमिका जबेगू, इलाम टाइम्सका पत्रकार जितमान राईलाई नगदसहितले पुरस्कृत गरिएको अध्यक्ष तुम्बापोले जानकारी दिए ।