धरान । धरानको समग्र विकास र हितको लागि काम गर्दै आएको धरान सरोकार समाज काठमाडौंले सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचित सांसद्हरूलाई स्वागत तथा सम्मान गरेको छ ।
बुधबार धरानमा एक कार्यक्रमको आयोजना गरी सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अशोककुमार राई, प्रदेशसभामा विजयी रमेशकुमार बस्नेत र विजयकुमार राईलाई स्वागत तथा सम्मान गरिएको हो ।
समाजका अध्यक्ष प्रभुप्रसाद श्रेष्ठले उनीहरूलाई सम्मान गर्दै धरानको विकासमा संस्थासँग सहकार्य गरेर अगाडि बढ्न सुझाव दिए । उनले विगतमा सुनसरी क्षेत्र नं. १ बाट निर्वाचित सांसद्हरूसँगको सहकार्यमा धरानमा धेरै योजनाहरू आएको बताउँदै नयाँ सांसद्हरूसँग पनि सहकार्य गरेर धरानको विकास गर्ने बताए । प्रतिनिधिसभा सदस्य अशोककुमार राईले पूर्व सांसद्हरूले धरानको विकासको जग बसाएको भन्दै त्यसलाई पूरा गर्न आफ्नो भूमिका हुने बताए ।
धरान सरोकार समाजसँग सहकार्य गरेर काम गर्ने पनि उनले प्रतिबद्धता जनाए । त्यस्तै प्रदेशसभा सदस्य रमेशकुमार बस्नेतले आफूहरू यस क्षेत्रको विकास र जनताका सुविधाका लागि काम गर्न गएकाले खबरदारी र सरोकारवालाहरूको सुझाव तथा निर्देशन आवश्यक रहेको बताए । कार्यक्रममा अर्का प्रदेशसभा सदस्य विजयकुमार राईले पनि सबैसँग सहकार्य गरेर यसक्षेत्रको विकासमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा पूर्व वाणिज्यमन्त्री मीन विश्वकर्माले नवनिर्वाचित सांसद्हरूलाई बधाई तथा शुभकामना दिए । उनले सबैसँग सहकार्य गरेर अगाडि बढ्न पनि सुझाए । कार्यक्रममा संविधानसभाका सदस्यहरू कृष्णकुमार राई, किरणकुमार राई, समाजसेवी सरला कायस्थ, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व रेक्टर प्रा.डा. विक्रम श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।