विराटनगर । नेपाली काङ्ग्रेसका नेताहरूले गठबन्धनबाटै नयाँ सरकार बन्ने बताएका छन् । गठबन्धनबाटै नयाँ सरकार बनाउने भनेर चुनावमा गाएकोले अहिलेकै गठबन्धनको सरकार बन्ने उनीहरूले बताएका हुन् ।
विराटनगरमा मङ्गलबार काङ्ग्रेस नेता गुरुराज घिमिरेले लेखेको ‘बाटो बिराएको राजनीति’ नामक विचार सङ्ग्रह विमोचन कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता शेखर कोइरालाले निर्वाचनमा पार्टीको लोकप्रिय मत घटेको विषयले काङ्ग्रेसको साख गिरेको बताए । पपुलर मत घट्नुको कारणबारे गम्भीर छानबिन गरिनुपर्ने बताए ।
‘यसपटक २३ बाट ५७ सिटमा त काङ्ग्रेस पुग्यो तर, पपुलर मत ७ प्रतिशत किन कम भयो ?’ कोइरालाले भने, ‘यसबारे गम्भीर हुन जरुरी छ । काङ्ग्रेसको साख गिरेको हो कि भन्ने छ । यसलाई सच्याएर अघि बढनुपर्छ ।’
काङ्ग्रेस एकढिक्का भएर अघि बढ्ने बताउँदै नेता कोइरालाले काङ्ग्रेसभित्रको विषयलाई लिएर चिन्तित नहुन उनले बताए । ‘तपाईंहरू ढुक्क हुनुहोस्, काङ्ग्रेस एकढिक्का भएर अघि बढनेछ । सरकार पनि गठबन्धनकै हुनेछ’–उनले भने । पार्टीले उम्मेदवारी चयन गर्दा प्राइमरी इलेक्सन गर्नसके सबैभन्दा राम्रो हुने भन्दै उनले काङ्ग्रेसले क्रियाशील सदस्यता शतप्रतिशत खुला गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले गठबन्धनकै सरकार बन्ने दाबी गरे । ‘सरकार गठबन्धनकै बन्छ । गठबन्धनको सरकार बनाउने भनेर हामी निर्वाचनमा गएका हौं । बहुमत पनि आएको छ’ नेता थापाले भने, ‘गठबन्धनको सरकार बन्नेमा कुनै शङ्का छैन । अहिले पनि केन्द्र र प्रदेशमा गठबन्धनकै सरकार छ ।’
उनले गठबन्धनको सरकार बन्नेमा कुनै शङ्का नभएको बताए । ‘गठबन्धनको सरकार बनेपछि नेताहरूले निजी कम्पनी चलाएजस्तो पहिलाको जस्तै खासखुस कानेखुसी गरेर तँ यो महिनासम्म, तँ यो महिनासम्म भनेर कोठाभित्र कागजमा तमसुक गर्छन्’ उनले भने, ‘बाहिर भन्ने आँट गर्दैनन्, लुकाउँछन् । भित्रभित्रै परिवारको सदस्यलाई म त बन्छु नि अबको मङ्सिरपछि भन्छन्, बाहिर भन्दैनन् । त्यही कुरामा अलि पछि बबण्डर गर्छन् ।’
सरकार बनाउनभन्दा सरकार बनाएपछि के गर्ने चिन्ता लिनुपर्ने उनले बताए । सरकारको कुनै निश्चित उद्देश्य नभएपछि काम गर्न नसकिने उनले बताए । गठबन्धनको सरकारले स्पष्टता दिनुपर्ने उनको भनाइ छ ।
उनले पाँच वर्षसम्म स्थिर सरकार बनाउनुपर्नेमा पनि जोड दिए । सरकारमा बस्नेले शक्ति, स्रोत र सीमालाई ख्याल गर्नुपर्ने महामन्त्री थापाको भनाइ थियो । अर्थतन्त्र डामाडोल अवस्थामा भएकाले निर्वाचनमा उम्मेदवारले खटेजस्तै गरी सरकारले काम गर्नुपर्ने उनले बताए । अर्थतन्त्र सम्हाल्न सानो सोच र क्षमताले नहुने थापाको जिकिर थियो ।
गठबन्धन सरकारले समस्याको समाधान दिएर अगाडि बढ्ने उनको भनाइ छ । उनले पनि काङ्ग्रेसको लोकप्रिय मत घटेकोप्रति चिन्ता व्यक्त गरे । उनले भने, ‘प्रत्यक्षमा पनि हामी एक्लै लडेर ल्याएको होइन, त्यति सिट । त्यसैले अब सरकार बनेपछि कामले देखाउन सक्नुपर्छ । काम गरेपछि मात्रै अबको पाँच वर्षपछि ४० प्रतिशतको पार्टी बन्न सक्छ । पार्टी आफै बन्छ ।’
पार्टीभित्र कोही दाइ रिसाउँछ भनेर नभई इमानदारीपूर्वक पार्टी सङ्गठन निर्माणमा लाग्न उनले नेता तथा कार्यकर्तालाई निर्देशन दिए । उनले आफ्नो विचार मिलेकै कारणले १४ औं महाधिवेशनमा डा. शेखर कोइरालासँग एकै ठाउँमा उभिएको बताए । कार्यक्रममा काङ्ग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, अमृत आर्याल, भीम पराजुलीलगायतले बोलेका थिए ।