बिर्तामोड । नेपाली काङ्ग्रेसका महामन्त्री तथा झापाको क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले आफू तत्काल मन्त्री पदको आकाङ्क्षी नरहेको बताएका छन् ।
नेपाल प्रेस युनियन झापाले आयोजना गरेको सांसद् सम्मान तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै शर्माले मन्त्री पदमा अरू नै सांसद्हरूलाई प्राथमिकता दिइने बताए ।
उनले भने, ‘सबै स्पष्ट भए हुन्छ कि म अहिले नै मन्त्री पदका लागि लाइनमा छैन ।’ उनले समय आएपछि मात्र मन्त्री पदमा बस्ने बताए । तर, पाँच वर्षे सांसद्को कार्यकालभित्र मौका मिले मन्त्री बन्ने उनको भनाइ थियो ।
शर्माले भने, ‘अहिले नै मन्त्री खान्छु भन्ने विषय मेरा लागि सान्दर्भिक हुँदैन । म पार्टीको महामन्त्री पनि हो । मैले जिम्मेवारीपूर्वक अन्य साथीहरूलाई सहयोग गर्नुपर्छ ।’ पार्टी सभापति शेरबहादुर देउवालाई अब प्रधानमन्त्री पदको लोभ नराख्न उनले आग्रह गरे । पार्टीका अन्य योग्य नेताहरूलाई प्रधानमन्त्री पद छोडिदिनुपर्ने उनको भनाइ थियो ।
‘चाहे रामचन्द्रजी, चाहे शेखर कोइरालाजी जसलाई भए पनि प्रधानमन्त्री पद छोडिदिनुभयो भने त्यो स्वागतयोग्य कदम हुनेछ’–शर्माले भने । तर, आफ्नो समर्थन गगनकुमार थापाका लागि हुने उनले स्पष्ट पारे । थापा प्रधानमन्त्री हुँदा नागरिकको अपेक्षा पूरा हुने सम्भावना बलियो रहने शर्माको तर्क थियो ।
काङ्ग्रेसको संसदीय दलको नेतामा धेरै नेताहरूले अपेक्षा राखेकोमा त्यसका लागि पार्टीमा गहन छलफल हुने उनको भनाइ थियो । उनले भने, ‘लोकतन्त्रको सौन्दर्य भनेकै यही हो । छलफल हुन्छ, अनि निकास निस्किन्छ ।
एक–अर्काको मत ट्रान्सफर गरेर निर्वाचन जितेका कारण वर्तमान गठबन्धनकै सरकार बन्ने उनको दाबी थियो । यद्यपि सरकार नेपाली काङ्ग्रेस नेतृत्वमै गठन हुने धारणा उनले राखे । उनले नेपाली काङ्ग्रेसले सदनको आयु ५ वर्षभन्दा कम सोच्न नसकिने शर्माको भनाइ थियो ।