विजयपुर । धरान उपमहानगरका प्रमुख हर्कराज राईले फेसबुक पेज ‘हर्क साम्पाङ अ रेभोलुसन’ मा दलित समुदायलाई होच्याउने शब्द लेखेपछि राष्ट्रिय दलित आयोगले आपत्ति जनाएको छ भने दलित अधिकारकर्मीहरूले समेत विरोध जनाएका छन् ।
नगर प्रमुख राईले कुनै व्यक्ति वा समुदायलाई लक्षित गर्दै ‘बल होइन बुद्धि लगा चमारे बुद्धि’ भनेर लेखेका थिए । ‘चमारे’ दलितभित्रको मिजार समुदायलाई अपमानित वा होच्याउँदा प्रयोग गरिने शब्द भन्दै चौतर्फी विरोध भएको छ । दलित अधिकारकर्मीहरूले नगर प्रमुख राईले आम दलित समुदायलाई नै अपमानित गरेको भन्दै विरोध जनाएका छन् ।
दलित अधिकारकर्मी विजय अछामीले नगर प्रमुख राईले सामाजिक सहअस्तित्वलाई अराजकता तिर लान बल पु¥याएको बताए । उनले नगर प्रमुखले बोल्दा वा लेख्दा ध्यान दिनुपर्ने बताए । उनले भने, ‘यस्तो शब्द प्रयोग नगरियोस् । प्रयोग गरे कानूनी प्रक्रियामा जान बाध्य हुनेछौँ ।’
संविधानको मौलिक हक अन्तर्गत धारा २४ मा छुवाछुत तथा भेदभावविरुद्धको हक रहेको छ । धारा २४ को उपधारा ५ धारा २४ को प्रतिकूल हुने गरी गर्ने सबै प्रकारका छुवाछुत तथा भेदभावजन्य कार्य सामाजिक अपराधको रूपमा कानूनबमोजिम दण्डनीय हुने उल्लेख छ ।
जातीय भेदभाव तथा छूवाछूत (कसुर र सजाय ) ऐन २०६८ दफा ४ को उपदाफा १२ मा कुनै माध्यमबाट सामाजिक विभेदलाई न्यायोचित ठह¥याउन वा जातीय सर्वोच्चता वा घृणामा आधारित विचारको प्रचार–प्रसार गर्ने, अपमानजनक शब्दको प्रयोग गरेमा जातीय भेदभाव मानिने उल्लेख छ । उक्त उपदफाअनुसार नगर प्रमुख राईले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसले जातीय भेदभाव गरेको मानिन्छ ।
यसरी जातीय भेदभाव गर्नेलाई ऐनको दफा ७ मा सजायसम्बन्धी व्यवस्था रहेको छ । दफा ४ को उपदफा १२ बमोजिमका कसुर गर्ने व्यक्तिलाई १ महिनादेखि १ वर्षसम्म कैद वा ५ सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।
दफा ७ को उपदफा २ मा सार्वजनिक पद धारण गर्ने व्यक्तिले दफा ४ को उपदफा १ बमोजिमको कसुर गरेमा सो उपदफामा उल्लेखित सजायको ५० प्रतिशत थप सजाय हुने व्यवस्था छ ।
मङ्गलबार राष्ट्रिय दलित आयोगले विज्ञप्ति निकाल्दै कुनै जातप्रति (चमारप्रति) अपमान हुने अभिव्यक्ति दिँदा त्यसको गम्भीर नकारात्मक असर पार्ने भन्दै नगरप्रमुख राईलाई अभिव्यक्ति सच्याउन माग गरेको छ । आयोगले दलित समुदायप्रति पर्न गएको चोटका लागि आत्मालोचना गर्न अनुरोध गरेको छ ।
आयोगको विज्ञप्तिमा ‘जनताको प्रतिनिधि र स्थानीय सरकारको प्रमुखजस्तो गरिमामय पदमा आसिन व्यक्तिले संविधान, प्रचलित मूल्य मान्यता र अन्तर्राष्ट्रिय मानवअधिकारको भावना र मर्मविपरीत चमार समुदायप्रति अपमान गर्नुले समाजमा नकारात्मक असर पर्ने भएकाले आत्मालोचना गर्न अनुरोध गर्दछौँ’ भनिएको छ ।
चौतर्फीरूपमा विरोध भएपछि नगर प्रमुख राईले उक्त स्टाटस भने हटाएका छन् तर, फेसबुकमै पनि माफी माग्नुको सट्टा जातीय भेदभाव नगरेको र ‘चमारे’ भन्ने कुनै जातिको थर नभएको दाबी गर्दै आएका छन् ।